साहित्य

एकै बसाइमा दर्शकलाई हँसाउने, रुवाउने र गम्भीर बाउने नाटक सिरुमारानी

वासुदेव पौडेल/  पोखरा । कला, संस्कृति र प्रकृतिको बरदान पाएको पर्यटकीय नगरी पोखरामा नवनिर्मित पोखरा थिएटरको पहिलो प्रस्तुति ‘सिरुमारानी’ यतिखेर सबैको चासो चर्चाको विषय बनेको छ ।

वरिष्ठ साहित्यकार सरुभक्तले लेखेको सिरुमारानी फागुन ३ गतेदेखि निरन्तर प्रदर्शन भएकामा यसले पोखरेली सर्वसाधारणको मन निकै आकर्षित गरेको पाइन्छ । पोखरा थिएटरमा पहिलोपटक मञ्चन गरिएको यो नाटकले सोचेभन्दा पनि बढी सफलता प्राप्त गरेको नाटकमा युवराजको भूमिकामा अभिनय गरेका कलाकार विष्णु गौतमले बताए ।

“पोखरा थिएटरमा दर्शकको क्षमता २०० जनाको छ,” उनले भने, “नाटक शुरु भएयता प्रत्येक पटकको मञ्चनमा ५०/६० जना दर्शक टिकट नपाएर फर्कन बाध्य भएका छन् ।”

नाटकको प्रारम्भमा थिएटर छिरिसकेपछि दर्शकहरू
“एका एका देशमा, कलियुगका भेषमा ।
न दाइँ कुनियो, भन्ने कुरा सुनियो ।।”
भन्ने गीत सुनेसँगै नाटकतर्फ आफ्नो मन खिचिसकेका हुन्छन् ।
लगभग दुई घण्टा समयावधिको यस नाटकले क्षणभरमा दर्शकलाई हँसाउने, रुवाउने र गम्भीर बनाउने गर्दछ ।

सिरुमारानी पञ्चायती व्यवस्था परिवर्तन भएको तर पञ्चायती मानसिकता परिवर्तन हुन नसकेको परिवेशमा रचना गरिएको नाटक भएको यसका लेखक सरुभक्त बताउछन् । “नेपालको समृद्ध लोकनाटक परम्परालाई आधुनिक रंगमञ्चमा प्रयोग गरेर जीवन र समाजलाई अभिव्यक्त गर्ने चाहनाले यो नाटक रचना भएको हो,” नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपतिसमेत रहेका सरुभक्तले भने ।

उनका अनुसार जीवनका प्रेम, घृणा, लोभलालसा, महत्वकांक्षा, मोहान्धता अनि सामयिक र सर्वकालीक राजनीतिक अवस्था यस नाटकका विषय हुन् । नारीलाई हेर्ने पुरुषवादी सोच र नारीले अनुभूत गर्नसक्ने नारीजन्य भावना, समवेदना, दुःख, पीडा र आहुतिका विम्ब नाटकका आधार भएको उनले बताए ।

नाटक घनाजंगलको बीच माछा मारेर जीविकोपार्जन माछेको जीवनीबाट शुरु भएको छ ।  उसको जालमा एक दिन अनौठो सुन्दर माछो पर्दछ जुन एकाएक सुन्दरीका रुपमा प्रकट हुन्छे । सुन्दरी श्रापित नागराजकुमारी भएको सुन्दरीबाटै माछोले थाहा पाउँछ । माछेले सुन्दरीसँग घरजम गर्छ र सिरु नामकी छोरी जन्मन्छे । छोरी जन्मेपछि सुन्दरी नागलोक फर्कन्छे । उक्त समयमा एक जना अन्धा भविष्य वक्ताले सिरु चक्रवर्ती महाराजकी रानी हुने भविष्यवाणी गर्दा माछे निकै हर्षित बन्छ ।

सिरु १६ वर्षकी हुँदा गाउँको ढाक्रेको छोरासँग प्रेममा परे पनि उसको विवाह चक्रवर्ती महाराजसँग नै हुन्छ । चक्रवर्ती महाराजले आफ्नो युवराज छोरासँग उमेर र जवानी साटफेर गरेको कुरा सिरुले दरबार पुगेपछि थाहा पाउँछे । उक्त कुराले सिरुलाई आफ्नो पति को हो भन्ने कुरामै द्विविधा हुन जान्छ ।

सिरुले आफ्नो द्विविधाको समाधान खोज्दा अन्ततः चक्रवर्ती राजाको दरबार तहसनहस हुन्छ र नाटक सकिन्छ । सिरुको जन्मले एकाएक हर्षित बन्ने दर्शकहरू सिरुको जन्मसँगै उसकी आमा नागलोक फर्कदा दुःखित बन्दछन् । जवानी हुँदै गर्दा ढाक्रेको छोरासँगको प्रेमालाप र उसँगको विछोड एवम् चक्रवर्ती राजासँगको विवाहले दर्शकलाई कही खुसी बनाउँछ भने कहीँ गम्भीर बनाउँछ ।

चक्रवर्ती महाराजले आफ्नो युवराज छोरासँग उमेर र जवानी साटफेर गरेको कुरा सिरुले दरबार पुगेपछि थाहा पाएपछि आफ्नो पति को भन्ने द्विविधाको उत्तर खोज्दा अन्ततः राजदरबार नै तहसनहस हुँदा दर्शकलाई पुनः गम्भीर एवम् दुःखी बनाउँछ । सरुभक्तले डेढ दशकअघि लेखेकको यो नाटक एउटा नारीले आफूमाथि जबर्जस्ती लादिएको कर्तव्यको सट्टामा आफ्नो नारी धर्म बचाउन गरेको संघर्षको कथा हो । लोकशैलीमा लेखिएको यो नाटक प्रेमकथामा आधारित छ ।

पोखरेली दर्शकले नाटकलाई निकै रुचिका साथ हेरिदिँदा आफूहरू हर्षित बनेको माछेको भूमिकामा रहेका कलाकार माओत्से गुरुङले बताए । पोखरामा पहिलो पटक मञ्चन भए पनि १७ वर्षअघि अनुप बरालको निर्देशनमा यो नाटक सांस्कृतिक संस्थानमा मञ्चन भएको राजाको भूमिकामा अभिनय गरेका कलाकार प्रकाश घिमिरेले जानकारी दिए । “१७ वर्ष अघि मण्डला थिएटरमा सिरुमारानी मञ्चन हुँदा म माछेको भूमिकामा थिएँ,” उनले भने, “पोखरा थिएटरमा अहिले मञ्चन भइरहँदा म राजाको भूमिकामा छु ।”

यो नाटक तीन वर्षअघि दयाहाङ राईको निर्देशनमा मण्डला थिएटरमा मञ्चन गरिएको जानकारी दिँदै उनले पोखरा थिएटरमा सोमनाथ खनालले निर्देशन गरेको बताए । नाटकमा प्रयोग गरिएको प्रकाश प्रणाली, परम्परागत वाद्यवादन, नेपालीपन झल्कने वेशभूषा आदिले पनि दर्शकलाई लोभ्याउने गरेको छ । पोखरेली रंगमञ्चमा परिचित प्रकाश घिमिरे (राजा), माओत्से गुरुङ (माछे), विष्णु गौतम (युवराज) आदिको अभिनय, धनबहादुर गायकको बाजाको धुनले दर्शकलाई निकै आकर्षित गरेको छ ।

कार्यक्रममा दिल गुरुङ, रमेशबाबु तिमिल्सिना, सीमा गुरुङ, अञ्जु दाहाल, बबिता मल्ल, लक्ष्मण डुम्रे, प्रसुना भण्डारी, सचिन गिरी, शरद भण्डारी, ध्रुव पौडेल, अविराज बिसी, सूर्य सुवेदी, सम्झना सिर्पाली, विश्वराज पौडेललगायतको जीवन्त अभिनय रहेको छ ।