कृषि

उत्पादन बढेसँगै दूधको खपत बृद्धि

ललितपुर । दूधको उत्पादन बढेसँगै यसको खपत बढेको छ । अहिले एकजना नेपालीले प्रतिवर्ष औसत झण्डै ७० लिटर दूध खाने गरेको पशु उत्पादन निर्देशनालयमा कार्यरत डा सुरेन्द्र झाले बताए । पाँच वर्षको अन्तरालमा झण्डै १० लिटरका दरले बढेको उनको भनाइ छ ।

पाँच वर्ष पहिले प्रतिवर्ष प्रतिव्यक्ति ६० लिटर दूध खपत हुने गरेको थियो । उनी भन्छन्, “दूधको उत्पादन र खपत बढिरहेको छ ।”

वार्षिक प्रतिव्यक्ति करिब डेढ लिटरका दरले दूधको खपत बढेको डा झा बताउछन् । निर्देशनालयले जिल्ला पशुसेवा कार्यालय र पशुसेवा केन्द्रमार्फत स्वस्थ दूधको उत्पादन गर्न र बढाउन किसानलाई सहयोग गरिरहेको छ । दूधको उत्पादन र माग बढिरहेको छ ।

उनी भन्छन्, “हामीले सम्भावना भएका जिल्लामा दूधको उत्पादन बढाउने कार्यक्रम लागू गरिरहेका छौँ ।” हिमालीबाहेक पहाड र तराईमा दूधको उत्पादन हुने गरेको छ । व्यावसायिक रुपमा पशुपालन गर्ने किसानको संख्या बढेको छ ।