आर्थिक

इँटा भट्टाका कारण वातावरण प्रदूषित

धुलिखेल । इँटा भट्टा सञ्चालन गरेका कारण धुवाँ र धुलोले ढाक्न थालेपछि काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको मुख्य बजार भकुण्डेको वातावरण प्रदूषित हुँदै गएको छ ।

उब्जनी हुने फाँटमा इँटा भट्टा सञ्चालनमा आएपछि नमोबुद्ध नगरपालिका– २, ३, ४ र ७ मा धुलो र धुवाँले असर गर्न थालेको स्थानीय बासिन्दाले बताएका छन् ।

स्थानीयवासी शंकर दंगाल इँटा भट्टामा सामान ओसार्न थालेपछि धुलो र धुवाँले निकै असर गर्न थालेको बताउनुहुन्छ । “धुलो उडाएर बसिनसक्नु बनाएको छ,” उनले भने– “धुवाँ र धुलोको कारण सास फेर्न गाह्रो हुने गरेको छ ।”

स्थानीयवासी इन्द्र विसंखे इँटा भट्टा सञ्चालनमा आएपछि प्रदूषण बढ्नुका साथै लगाएको बालीनाली, अन्न, फलफूललगायतमा असर पु¥याएको बताउछन् । इँटा भट्टाका लागि पानी तान्न थालेपछि पहिलाभन्दा सुख्खा क्षेत्र बढेको उनको भनाइ छ ।

नमोबुद्ध नगरपालिकाका प्रमुख टंकप्रसाद तिमल्सिनाले इँटा भट्टा व्यवस्थापनबारे छलफल भइरहेको बताए । धुवाँ र धुलोका कारण नगर कुरुप बन्दै गएको उनको भनाइ छ । उनले खेतियोग्य जमिनका जग्गाधनीसँग कृषि उत्पादनमा जोड दिनेबारे योजना बनाइरहेको बताए ।

नगरपाकिलाका वातावरण शाखाका प्रमुख सन्तोष काफ्ले आवश्यक कार्बाहीका लागि छानबिन गर्न वडा नं २ का वडाध्यक्ष सञ्जीव ढकालको संयोजकत्वमा वडा नं ३, ४ र ७ का वडाध्यक्ष, इलाका प्रहरी कार्यालय र अन्य संघ÷संस्थाका प्रतिनिधि रहेको समिति गठन गरिएको बताए । अहिले सो क्षेत्रमा करिब डेढ दुई किलोमिटरको दुरीमा आठवटा इँटा भट्टा सञ्चालनमा छन् ।