पु.समाचार

नकुहिने प्लाष्टिक कम्पनी बन्द गर्ने मन्त्री पण्डीतको उद्घोष

भक्तपुर । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले नकुहिने प्लाष्टिक उत्पादन गर्ने कम्पनीलाई प्रतिबन्ध लगाइने बताएका छन् ।

रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री पण्डितले नकुहिने गरी खाद्यान्नलगायत अन्य डिब्बाबन्द सामान र नकुहिने प्लाष्टिक कम्पनीलाई उत्पादन प्रतिबन्ध लगाइने बताए ।

उनका अनुसार आगामी वैशाख १ गतेदेखि महानगर तथा उपमहानगरमा हरियो स्टिकर नहुने सवारी साधनलाई प्रतिबन्ध लगाइने छ । “हरियो स्टिकर भएर पनि प्रदूषणयुक्त कालो धुवाँ फाल्ने सवारी साधनलाई परीक्षण गरी कारवाही गरिनेछ र त्यस्ता सवारी साधनका कर्मचारीको नाम समेत उल्लेख गरी सवारीधनी र कर्मचारीलाई समेत कारबाही गरिने छ ”, उनले भने ।

वातावरणको ख्याल नगरी कानून मिच्दै सञ्चालनमा आएका इँटा भट्टालाई वातावरणमैत्री बनाइने र गलत ढंगले सञ्चालनमा आएका भट्टालाई कारवाहीको दायरामा ल्याइने उनको भनाइ थियो । नेपाल सरकारले तोकेको मापदण्डभन्दा बाहिर गएर आयात गरिएका सामानमा समेत प्रतिबन्ध लगाउने तयारी भइरहेको बताउँदै उनले आयात हुने सामानको प्रयोगशाला परीक्षण गरी तोकिएको मापदण्डअनुरुप मात्र नेपाल भित्रिने व्यवस्था गरिने छ भने ।

एक स्थानमा उद्योग दर्ता गर्दै अर्को स्थानमा उद्योग सञ्चालन गरी वातावरण बिगार्नेलाई कारवाहीको दायरामा ल्याइने पनि मन्त्री पण्डितले बताए ।