स्वास्थ्य

स्वास्थ्य शिविरबाट पाँचसयभन्दा बढीलाई उपचार

सप्तरी । प्रदेश नम्बर २ अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ मा नेपाली सेनाद्वारा आयोजित स्वास्थ्य शिविरमा ५०० भन्दा बढीलाई उपचार गरिएको छ ।

स्थानीय आधारभूत विद्यालय, रम्पुरामा विपन्न वर्ग तथा समुदायका बिरामीलाई लक्षित गरी मध्यपूर्वी पृतना हेडक्वार्टरको संयोजन एवं भीमदल गण भलुवाही ब्यारेक, राजविराजद्वारा स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।

सो शिविरमा भरतपुर क्यान्सर अस्पतालका वरिष्ठ डा प्रकाशराज न्यौपानेसहित १६ जनाको स्वास्थ्यकर्मी टोलीले सेवा दिएको बताइएको छ । श्री नम्वर २७ फिए र श्री नम्बर २८ फिएका डाक्टर दुईजनासहित नर्सिङ अर्दली–६ गरी आठजनाको टोलीले स्त्रीरोग तथा पाठेघरसम्बन्धी क्यान्सर र पुरुषको मुख तथा अन्य क्यान्सरसम्बन्धी निःशुल्क उपचार तथा औषधि वितरण गरिएको छ ।

उक्त शिविरबाट २३३ जना पुरुष र ३३९ जना महिलालाई सेवा लिएको भीमदल गण, भलुवाही ब्यारेकले जनाएको छ ।

अवैध मदिरा नष्ट

यसैबीच, प्रहरीले सप्तरीको सप्तकोशी नगरपालिका– १० बाट अवैध मदिरा बरामद गरेको आज बताइएको छ ।

सप्तरीको प्रहरी चौकी फत्तेपुरबाट खटिएको टोलीले स्थानीय गुनेलाल मलाह र धडकन मलाहको घरबाट अवैध तयारी घरेलु मदिरा २५० लिटर र मदिरा बनाउनमा प्रयोग हुने कच्चा पदार्थ २५ ड्रम बरामद गरिएको इलाका प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।

यता बरामद गरिएको अवैध मदिरा र त्यसमा प्रयोग हुने पदार्थ स्थानीय भद्रभलादमीको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।