राजनीति

प्रदेश २ मा समेत एमालेसहितको सरकार बन्ने स्थायी समिति सदस्यले गरे खुलासा

राजविराज । प्रदेश नं २ मा वाम गठबन्धनसहितको सरकार गठन हुनसक्ने नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा प्रदेश नं २ का संसदीय दलका नेता सत्यनारायण मण्डलले बताएका छन् ।

नेपाल बुद्धिजीवी परिषद्, सप्तरीद्वारा सोमबार राजविराजमा आयोजित ‘होलीको शुभकामना, बधाई तथा सम्मान कार्यक्रम’ मा नेता मण्डलले प्रदेशको समृद्धि र विकासका लागि वाम गठबन्धनसहितको सरकार बनाउने प्रयास भइरहेको बताए ।

“प्रदेशलाई आर्थिकरुपमा समृद्ध र विकसित बनाउन सबै पार्टीको सहकार्य आवश्यक छ,” नेता मण्डलले भने, “प्रदेश नं २ मा राजपा र फोरमका प्रदेश सांसद नै अनुपस्थित भएर विश्वासको मत नपुग्ने अवस्थामा हामीले विश्वासको मत पनि दिएका छौँ ।” मधेश र मधेशी जनताको पक्षमा कम्युनिष्ट पार्टी नै रहेको कुरा व्यवहारबाट जवाफ दिने उनले बताए।

राष्ट्रियसभा सदस्य तथा एमाले केन्द्रीय सदस्य सुमनराज प्याकुरेलले केन्द्रमा फोरम–राजपा तथा प्रदेश नं २ मा वाम गठबन्धनसहितको सरकार गठनको प्रयास भइरहेको बताए ।

मधेशी जनता र सरकारबीच पुलको काम गर्ने बताउँदै उनले कामले मधेशको पक्षमा कम्युनिष्ट पार्टी रहेको पुष्टि गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

पूर्व सिँचाइमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता उमेश यादवले नाकाबन्दीको समयमा केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले मधेशका लागि दिएको पर्याप्त बजेटका कारण नै काँग्रेसको पालामा जीर्ण बनेका पूर्वाधार र संरचनाको विकास निर्माण शुरु भएको बताए ।

परिषद्का अध्यक्ष भूपेन्द्रनारायण मण्डलको अध्यक्षतामा सम्पन्न सम्मान समारोहमा एमाले र माओवादी केन्द्रबाट प्रदेश सभामा निर्वाचित सदस्यहरुलाई अबीर, माला र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।