राजनीति

मलाई गलत हुनबाट रोक्नुहोस्ः मन्त्री यादव

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मन्त्रालयको काम कारबाहीलाई जनमुखी र प्रभावकारी तुल्याउन सामूहिक सहकार्य हुनुपर्ने बताएका छन् ।

आज सिंहदरबारमा पदभार ग्रहणपछि मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै उनले समन्वयका साथ अधिकार र कर्तव्यबोधलाई ध्यान दिएर देश र जनताका पक्षमा काम गर्नुपर्ने खाँचो औँल्याए ।

“भाषण गर्ने तर काम नगर्ने प्रवृत्ति पुरानै भएकाले त्यसको अन्त्यगर्दै जति बोलिन्छ त्यति नै काम गर्नेगरी योजनाबद्ध कार्यक्रम ल्याउछु,” मन्त्री यादबले भने ।

“अहिले भाषण हैन काम गर्ने बेला हो, मलाई गलत हुनबाट रोक्नुहोला, बेलैमा सजक गराउनुस्, हामी सबै मित्रवत् व्यवहारका साथ मन्त्रालयलाई नमूना बनाउनेतर्फ अघि बढौँ”, उनले भने ।

मन्त्री यादबले आफू मित्रवत् व्यवहारका साथ मन्त्रालयको काम कारबाही सम्पादन गर्ने उल्लेख गर्दै अनुशासन तोडेर गढबड गर्नेका लागि मात्र आफू खतरा भएको र त्यसका लागि कुनै सम्झौता नगर्ने स्पष्ट पारे ।

संविधानको निर्देशअनुसार समाजवादको आधार तयार गर्नेगरी काम गर्ने पनि उनले बताए।

कार्यक्रममा यसअघि तीन वटा मन्त्रालय समयोजन गरेर गठन भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव क्रमशः चन्द्रकुमार घिमिरे, यामकुमारी खतिवडा र अनिलकुमार ठाकुरले मन्त्रालयको गतिविधिबारे जानकारी गराउँदै एकीकरणपछि मन्त्रालयलाई छरितो र वैज्ञानिक बनाउन लागिपरेको उल्लेख गरे ।

उनीहरुले अहिलेको मुख्य समस्या मुलुकको व्यापार घाटालाई न्यूनीकरण गर्न योजनाबद्ध कार्यक्रम ल्याउने तयारीमा लागेको बताए ।

को हुन् मातृका यादव !

विसं २०३४ मा नेपाल कम्युनिष्ट पार्टी (चौथो महाधिवेशन)बाट राजनीतिक यात्रा शुरु गरेका मातृका यादव विसं २०३६/०३८ सम्म सिरहा क्याम्पसमा दुई पटक अनेरास्ववियुको सभापति बने ।

विसं २०३८ मा विद्यार्थीको सातौँ राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य बन्नुभएको मन्त्री यादब त्यसपछि भूमिगत जीवन बिताए । उनी चौथो महाधिवेशनका पोलिटब्यूरो सदस्य (पिबिएम) समेत भए।

जेल जीवन र लामो संघर्ष भोगेका उनले विसं २०३९ मा जेलबाट छुटेपछि पुनःपार्टीमा सक्रिय भए । विसं २०४० मा देव गुरूङको नेतृत्वमा विद्यार्थी संगठनमा केन्द्रीय सदस्य र पार्टीमा क्षेत्रीय ब्यूरो सदस्य बने ।

पार्टी पातलो मसाल, मोटो मसाल हुँदै एकता केन्द्र बन्दासम्म मातृका यादव क्रान्तिकारी धारमै सक्रिय थिए । विसं २०५०/५१ मा पुष्पकमल दहालको नेतृत्वमा रहेको एकता केन्द्रमा उनी संलग्न भए । विसं २०५९ मा सरकारसँग दोस्रो वार्तामा वार्ताटोलीको सदस्य बने ।

अन्तरिम व्यवस्थापिका–संसद्मा वनमन्त्री बनेका उनी तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालसँगको विवादका कारण मन्त्रीबाट राजीनामा दिएका थिए । विसं २०६४ मा संविधानसभामा समानुपातिकबाट सभासद् बने । पार्टीबाट अलग भई सभासद्बाट पनि राजीनामा दिएर उनी २०६५ माघ २९ गते माओवादी पुनःगठन गर्ने भन्दै नेकपा (माओवादी) को संयोजक भएर आन्दोलनमा अघि बढे ।

यादवले दुई वर्ष अगाडि माओवादी केन्द्रसँग पार्टी एकीकरण गरेपछि मधेशको इञ्चार्ज पनि भए । धनुषा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित यादव मधेशमा प्रभावकारी नेताका रुपमा चिनिन्छन् ।

उनी माओवादी केन्द्रका तर्फबाट एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारको मन्त्रिमण्डलमा सहभागी भएको छ । मन्त्री यादवले त्रिभूवन विश्वविद्यालयबाट शिक्षा शास्त्रमा प्रविणता प्रमाणपत्र (आइएड) सम्मको शिक्षा हासिल गरेका छन् ।