पु.समाचार

सञ्चार माध्यममा सामग्री प्रकाशन गर्ने विषय संविधान प्रदत्त अधिकारः पत्रकार महासंघ

काठमाडौँ । नेपाल पत्रकार महासंघले सर्वोच्च अदालतले आइतबार कान्तिपुर दैनिकविरुद्ध चलिरहेको मानहानीको मुद्दामाथि दिएको आदेशप्रति आपत्ति जनाएको छ ।

महासंघका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गर्दै सञ्चार माध्यममा कुन सामग्री प्रकाशन तथा प्रसारण गर्ने वा नगर्ने विषय सञ्चार माध्यमको संविधान प्रदत्त अधिकार हो भने ।

विज्ञप्तिमा भनिएको छ –“नेपालको संविधान २०७२ ले पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गरेबाट आमसञ्चारको हक र महत्व स्पष्ट हुन्छ ।”

आइतबार सर्वोच्च अदालतका प्रधानन्यायधीश गोपालप्रसाद पराजुलीका बारेमा कान्तिपुर दैनिकमा समाचार प्रकाशित भएपछि सर्वोच्च अदालतले तीन दिनभित्र उपस्थित भएर बयान दिन कान्तिपुर दैनिक र प्रेस काउन्सिललाई निर्देशन दिएको छ ।

अदालतको आदेश र त्यसपछिको प्रतिक्रियालाई ध्यानमा राख्दै महासंघले आन्तरिक बैठक र सरोकार भएकासँग छलफलपछि थप धारणा सार्वजनिक गर्ने विज्ञप्तिमा उल्लेख छ ।