राजनीति

जनप्रतिनिधि शासक बन्दैछन्ः महेश बस्नेत

भक्तपुर । नेकपा (एमाले)का युवा नेता महेश बस्नेतले जनताको मत पाएर आएका स्थानीय तहका जनप्रतिनिधि शासकका रुपमा प्रस्तुत हुन थालेको बताएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज आयोजना गरेको ‘वर्तमान परिप्रेक्ष्यमा नागरिक समाज तथा स्थानीय सरकारबीच सहकार्यका अवसर र चुनौती’ विषयको कार्यक्रममा प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य बस्नेतले जनप्रतिनिधिमा दम्भ र घमण्ड मौलाउँदै गएको बताउँदै भने, “ पछिल्लो समयमा हामी जनताको प्रतिनिधि हो भन्ने भुलेर हामी शासक हौँ कि भन्ने दम्भ र घमण्ड जनप्रतिनिधिमा बढ्दै गएको छ, यसले विकासमा बाधा पु¥याउँछ ।”

जनप्रतिनिधिले चार किल्ला प्रमाणित र भूमिसुधारको काम गरेर दैनिक समय बिताउँदै आएको टिप्पणी गर्दै उनले रातो कलमले सही गर्न मात्रै जनप्रतिनिधि नभएकाले विकास निर्माण र अन्य काममा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति भक्तपुरका उपप्रमुख सरिता कुँवर, सहायक प्रजिअ जयकुमार घिमिरे, नगरपालिकाका उपप्रमुखहरु सूर्यविनायककी जुना बस्नेत र चाँगुनारायणकी वीणा बास्तोलालगायतले स्थानीय तहको विकास र प्रगतिका लागि नागरिक समाज र जनप्रतिनिधि मिलेर काम गर्नुपर्नेमा जोड दिए ।