कृषि

बारा दूध उत्पादनमा आत्मनिर्भर बन्दै

वीरगन्ज । गाई–भैँसीमा कृत्रिम गर्भाधान कार्यक्रम प्रभावकारी भएपछि बारा दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ ।

आव २०७२/७३ को तुलनामा आव २०७३/७४ मा जिल्लामा गाई–भैँसीमा कृत्रिम गर्भाधान २४ प्रतिशतले वृद्धि भएपछि दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा देवनन्दन साहले जानकारी दिए ।

जिल्लामा करिब सत्तरी हजार किसान पशुपालन व्यवसायमा संलग्न छन् । आव २०७३÷७४ मा रु तीन अर्ब २६ करोड ६९ लाख बराबरको ६ करोड ५३ लाख ३८ हजार लिटर दूध उत्पादन भएको साहले बताए । दैनिक रु ९० लाख मूल्य बराबरको एक लाख ८० हजार लिटर दूध उत्पादन हुँदै आएको छ ।

उत्पादित मध्ये दैनिक ४० हजार लिटर दूध हेटौँडा, काठमाडौँ, पोखरा, विराटनगर र सप्तरीमा बिक्री हुँदैआएको छ । जिल्लाबाट दैनिक रु पाँच लाख मूल्य बराबरको १० हजार लिटर दूध भारतमा बिक्री हुन्छ । जिल्लामा ६८ प्रतिशत किसान पशुपालन व्यवसायमा संलग्न रहेका छन् भने अघिल्लो आवमा रु तीन अर्ब १५ करोड २६ लाख ५० हजार बराबरको ६ करोड ३० लाख ५३ हजार लिटर दूध उत्पादन भएको थियो ।

कार्यालयले किसानलाई पशुपालन व्यवसायतर्फ आकर्षित गर्न युवा स्वरोजगार कार्यक्रमअन्तर्गत गोठ निर्माण कार्यक्रम, दूध प्रशोधनका लागि सहकारी संस्थालाई चिलिम भ्याट, बायो ग्यास निर्माण, साइनो किट निर्माण, डेरी सुधार र घाँस बाली कार्यक्रमका लागि अनुदान दिन थालेपछि जिल्लामा यस वर्ष ३ दशमलब ६ प्रतिशतले दूध उत्पादनमा वृद्धि भएको वरिष्ठ पशु विकास अधिकृत साहले बताए ।

चालीस वटा डेरी उद्योग रहेको जिल्लाको पूर्वी तथा दक्षिणी भेग गाई–भैँसी पाल्ने पकेट क्षेत्रका रुपमा चिनिन्छ । पशु प्रजनन (प्राकृतिक र कृत्रिम गर्भाधान), घाँस तथा पशु आहारा विकास, पशु स्वाथ्य सेवा र बजार प्रवर्धनलगायत सेवा प्रदान गर्दै आएको छ ।

गाई–भैँसी कार्यक्रमलाई अझ प्रभावकारी बनाई दूध उत्पादनमा वृद्धि गर्न जिल्ला पशु सेवा कार्यालयले सुदूर ग्रामीण बस्तीमा घुम्ती पशु स्वास्थ्य शिविर कार्यक्रमअन्तर्गत पशुपालक किसानलाई घरदैलोमा पशु सेवासम्बन्धी प्याकेज कार्यक्रम पु¥याउँदै आएको छ । कार्यालयले आगामी कार्यक्रमअन्तर्गत सदरमुकाम कलैया वरिपरिको १० किलोमिटर क्षेत्रलाई दूधको शहरका रुपमा विकास गर्ने लक्ष्य लिएको छ ।