राजनीति

राष्ट्रपति भबन जानुभन्दा अघि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच यस्तो भयो कुराकानी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच सरकार विस्तारका विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा अध्यक्ष दाहालले पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नामसमेत प्रधानमन्त्रीलाई बुझाएका थिए ।

अध्यक्ष दाहालका प्रमुख स्वकीय सचिव जोखबहादुर महराका अनुसार आज अपराह्न ४ बजे मन्त्रीको शपथ ग्रहण गराउने तयारी भएकाले पार्टीको तर्फबाट मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाइएको छ ।

माओवादी केन्द्रले नेता रामबहादुर थापाको नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको छ । माओवादी केन्द्रका अनुसार सबै प्रदेशको प्रतिनिधित्व र कार्यक्षमता प्रदर्शन गर्न सक्नेलाई मन्त्रिमण्डलमा पठाइएको छ ।

प्रधानमन्त्रीलाई पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम बुझाइएको भए पनि प्रमुख स्वकीय सचिव महराले भने नाम सार्वजनिक गर्न चाहेनन् । उनले भने, “सबै वर्ग, क्षेत्र तथा कार्यक्षमता हेरेर पार्टीले निर्णय गरेको छ । शपथ ग्रहण समारोहमा नै नाम सार्वजनिक भइहाल्छ ।”

प्रधानमन्त्री केपी शर्मा ओलीले आज दोस्रोपटक मन्त्रिमण्डल विस्तार गर्न लागेका छन् । यही फागुन ३ गते ओली नेतृत्वमा वाम गठबन्धनको सरकार गठन भएको थियो ।

प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले सरकार विस्तारका विषयमा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीचमा छलफल भएको जानकारी दिए ।

नेकपा (एमाले) र माओवादी केन्द्रमा मन्त्री बन्नेहरुको आकांक्षी बढी भएपछि छलफलका लागि समय लागेका कारण मन्त्रिमण्डल विस्तारमा ढिलाइ हुँदै आएको थियो ।

राष्ट्रपति कार्यालयले आज अपराह्न ४ बजे शपथ ग्रहणको तयारी गरेको छ । प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथ लिँदा मन्त्रिमण्डल तीन सदस्यीय बनाएक थिए ।