पु.समाचार

जबर्जस्ती करणी र वैदेशिक रोजगारीमा ठगीका फरार अभियुक्त कारागारमा

बनियानी, झापा । जबर्जस्ती करणी र वैदेशिक रोजगारीमा ठगी गरी फरार भएका तीन जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दमक–२ का ३२ वर्षीय क्षितिज राई, सोही स्थानका तुलसी श्रेष्ठ र हल्दिबारी–३ का ३३ वर्षीय जगदीस न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राई र श्रेष्ठलाई जबर्जस्ती करणी मुद्दाअन्तर्गत जिल्ला अदालत झापाले २०६५ असारमा १२ वर्ष कैद सजाय तोकेको थियो भने न्यौपानेलाई वैदेशिक रोजगार कसुरमा रु एक लाख ७५ हजार जरिवाना र १४ महिना कैद सजाय तोकेको थियो ।

प्रहरीको फैसला कार्यान्वयन टोलीले आइतबार उनीहरूलाई जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई झापा जिल्ला अदालत पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिसकिएको जिप्रका झापाका प्रहरी प्रवक्ता जीतेन्द्र बस्नेतले जानकारी दिए ।