पु.समाचार

आविष्कार केन्द्रलाई आर्थिक सहयोग

बागलुङ । ‘हाम्रो बागलुङ, हाम्रो जिम्मेबारी’ नामक युवा समूहले राष्ट्रिय आविष्कार केन्द्रको लागि रु ७६ हजार आर्थिक सहयोग जुटाएको छ ।

गत असारमा शुरु भएको ‘महावीर पुनलाई हाम्रो साथ’ अभियानबाट सो रकम संकलन भएको हो । उक्त रकम आविष्कार केन्द्रमा पठाएको समूहका अध्यक्ष सोम शर्माले जानकारी दिए ।

अपेक्षा गरेअनुसार रकम नजुटे पनि युवाको प्रयास सार्थक बनेको उनको भनाइ छ । समूहले तीन महिनाका लागि भनेर चलाएको अभियान केही लम्बिएको थियो । राष्ट्रिय आविष्कार केन्द्र राष्ट्रिय मुद्दासँग जोडिएकाले सहयोग अभियान चलाइएको अध्यक्ष शर्माले बताए ।
समूहले चलाएको अर्थ सकंलन अभियानमा ४० जति संघसंस्था र व्यक्तिले सहयोग गरेका छन् । अभियानको राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले शुभारम्भ गरेका थिए। शुभारम्भका बेला पुनले समुन्नत देश बनाउन आविष्कार केन्द्रको आवश्यकता औँल्याएका थिए । सामाजिक अभियान्ता समेत रहेका पुनले आविष्कार केन्द्रको लागि अपेक्षित रकम नजुटेपछि केही समयअघि आफूले पाएका पदक तथा पुरस्कार बिक्रीमा राखेका थिए ।

आविष्कार केन्द्रलाई सघाउन नागरिक स्तरबाट स्वतःस्फूर्त रुपमा आर्थिक संकलन अभियान चलिरहेको छ । पुनका अनुसार हालसम्म रु पाँच करोडभन्दा बढी रकम संकलन भइसकेको छ । सरकारले पनि आविष्कार केन्द्रको लागि आर्थिक सहायता दिने प्रतिबद्धता जनाउँदै आएको छ । वैज्ञानिक खोज अनुसन्धान गर्न र नेपाली जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न पुनले राष्ट्रिय आविष्कार केन्द्रको अवधारणा अघि सारेका हुन् ।