मनोरञ्जन

गीति एल्बम ‘यादहरु’ सार्वजनिक

काठमाडौँ । गीतकार सुदन डोटेल तथा संगीतकार सरोज प्याकुरेलको एकल संगीत निर्देशनका गीतको संग्रह ‘यादहरु’  यहाँ लोकार्पण गरिएको छ ।

नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका उपकुलपति शम्भूजीत बाँस्कोटा, संगीत रोयल्टी संकलन समाज नेपालका अध्यक्ष सुरेश अधिकारी, गायकद्वय रामकृष्ण ढकाल तथा आनन्द कार्कीसहितका व्यक्तित्वले सुगम संगीतमा आधारित उक्त गीति एल्बम लोकार्पण गरेका हुन्।

उक्त एल्बममा विभिन्न गायक–गायिकाको स्वरका पाँचवटा गीत समावेश छन् । झण्डै डेढ दर्जन गीत रेकर्ड गराइसके पनि ‘यादहरु’ गीतकार डोटेलका शब्दको पहिलो एकल एल्बम हो ।

संगीतकार प्याकुरेल तथा गीतकार डोटेलले गीति एल्बम तयार पार्ने क्रममा भोगेका तीता–मीठा क्षणका बारेमा रमाइला प्रसंग सुनाएका थिए । एल्बममा समावेश गरिएका गीतमा रामकृष्ण ढकाल, आनन्द कार्की, स्वरुपराज आचार्य, हेमन्त शर्मा तथा रीता केसीका स्वर रहेका छन् ।