खेलकुद

जुडो ओलम्पियक सोलिडारिटी कोर्ष सम्पन्न

काठमाण्डौ । नेपाल जुडो संघको आयोजनमा भएको अन्तराष्ट्रिय ओलम्पिक सोलिडारिटी कोर्ष आईतबार सम्पन्न भएको छ ।

नेपाल ओलम्पिक कमिटि तथा अन्तराष्ट्रिय ओलम्पिक कमिटिको सहयोगमा भएको कोर्षमा जुडोका ४० प्रशिक्षार्थीहरुले जुडो संग सम्वन्धित ज्ञानलाई पुनर्ताजगी गर्नुका साथै नयाँ ज्ञान सिप हासिल गर्न सफल भएका छन् । जसले आगामी दिनमा नेपालमा जुडो खेलको विकास र विस्तारका साथै नयाँ खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

कोर्षमा सहभागिहरुलाई अन्तराष्ट्रिय जुडो महासंघका बिज्ञ अमर मेजिदाले प्रशिक्षण प्रदान गरेका थिए । बिज्ञलाई नेपाली सहयोगी तथा बिज्ञ सुप्रशिद्ध ताम्राकार र राजीव प्रधानले सहयोग गरेका थिए ।

सोही अवसर पारेर नेपाल जुडो संघले २० रेफ्रि तथा ब्यवस्थापन सम्वन्धि सेमिनार पनि संचालन गरेको थियो । उक्त सेमिनारबाट २० जना लाभान्बित भएका छन् । सेमिनारमा २०१८ बाट जारी भउको जुडोका नयाँ नियमहरुको बारेमा नेपाल जुडो संघका महासचिव धर्म श्रेष्ठ, प्रमुख प्रशिक्षक विरेन्द्र रंजित, अन्तराष्ट्रिय रेफ्रि मनोज बहादुर के.सी.ले प्रशिक्षण प्रदान गरेका थिए ।

प्रशिक्षार्थीहरुलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेण्डी शेर्पाले प्रमाण पत्र प्रदान गरेका थिए । उपाध्यक्ष लामाले जुडो खेलबाट नेपाली खेल क्षेत्रले निकैनै आशा गरेको भन्दै प्रशिक्षार्थीहरुले प्राप्त ज्ञानले नेपालमा जुडो खेलको विकास र विस्तरमा सहयोग पुग्ने र ओलम्पिकमा जुडोले पदक हात पार्नेमा आफु बिश्वस्त रहेको बताए ।