मनोरञ्जन

गायिका जलजलाको उपचारका लागि सहयोग

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क घर भएकी गायिका जलजला परियारलाई उपचारका लागि दक्षिण कोरियामा काम गर्दैआएका अर्घाखाँचीवासीले सहयोग गरेको छ ।

मीठो स्वरकी धनी २१ वर्षीया गायिका परियार दुवै मिर्गौलाले काम गर्न छाडेपछि अहिले शिक्षण अस्पतालमा जीवनका लागि संघर्ष गरिरहेकी छन् । ‘नेपाली तारा सिजन–३’ मा सहभागी भएपछि स्रोता तथा दर्शकमाझ चिनिएकी उनले धेरै गीतमा स्वर भरेकी छन् । उनका ‘केही कदम’ सँगै ‘ढुंगाको मन हुनेलाई’, ‘म त रोएँ रोएँ’ लगायतका गीत चर्चित छन् ।

चलचित्र ‘बाटोमुनिको फूल २’ मा यश कुमारसँग गाएको, ‘केही कदम तिमीसँगै हिँड्ने मन छ, नजिकबाट तिमीलाई चिन्ने मन छ’ भन्ने यो गीतले उनलाई सांगीतिक क्षेत्रमा सबैसामु चिनाएको हो । तर अहिले उनै गायिका अस्पतालको शय्याबाट जीवनको याचना गरिरहेकी छिन् ।

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेकी परियारलाई रु एक लाख १३ हजार ३५० सहयोग रकम हस्तान्तरण गरेको छ ।

कोरियामा कार्यरत नेपालीबाट संकलन गरिएको रकमलाई एकमुष्ट गरी हस्तान्तरण गरिएको मञ्चका कोषाध्यक्ष राज खनालले जानकारी दिए ।

गायिका परियारलाई मिर्गौला प्रत्यारोपणका लागि आर्थिक अभावका कारण समस्या परेको भन्ने खबर पाएपछि नेपालीसँग रकम संकलन गरिएको उनले बताए । संकलित रकम मञ्चका सल्लाहकार प्रकाश बेलबासेमार्फत हस्तान्तरण गरिएको हो ।