राजनीति

प्रदेश २ का मन्त्रालयहरु र पछिल्लो भित्री कुरा

महेन्द्रनगर, धनुषा । जनकपुर उपमहानगरपालिकास्थित जनकपुर चुरोट कारखाना (जचुकाली) को प्रांगण भित्रको भवनमा प्रदेश २ का मन्त्रालयहरु स्थापना गरिएको छ ।

जचुकालीको चार तल्ले अधिकृत निवास भवनमा प्रदेश २ का चारवटा मन्त्रालय स्थापना गरिएको छ । जसको पहिलो तल्लामा सामाजिक विकास, दोस्रोमा आर्थिक मामिला तथा योजना, तेस्रोमा आन्तरिक मामिला तथा कानून र चौथोमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको बोर्ड झुन्ड्याइएको छ । मन्त्रालयलाई सुविधा सम्पन्न बनाउन कर्मचारी र कामदार खटिएका छन् । टेबल–कुर्सी र सोफाले मन्त्रीको कार्यकक्ष सजाइएको छ ।

कारखानाको आवासीय क्षेत्रमा प्रदेश मन्त्रालय, मन्त्री निवास र अन्य बन्दोबस्त मिलाउने काम तीव्र गतिले भइरहेको छ । जचुकालीका वरिष्ठ अधिकृत बस्ने चारवटा क्वार्टरलाई मर्मतसम्भार गरिएर मन्त्रीको निवास बनाइएको छ ।

जचुकालीको कम्पाउण्डभित्र प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आवास, प्रदेश प्रमुखको कार्यालय र आवास, चार वटा मन्त्रालय तथा मन्त्रीहरूको आवास राखिएको छ । यसअघि जनकपुरको शहरी विकास तथा भवन निर्माण कार्यालयमा रहेको मुख्यमन्त्रीको कार्यालय जचुकालीभित्रै सारिएको छ । केन्द्रीय शासकीय भवन सिंहदरबारजस्तै प्रदेश २ का सबै सरकारी निकाय जचुकाली कम्पाउण्डभित्र राखिने योजना रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । प्रदेश प्रमुख रतनेश्वरलाल कायस्थको कार्यालय र निवास शुरुमा जचुकालीमा राखिएको थियो । त्यसपछि क्रमशः प्रदेश २ को अन्य कार्यालयहरू त्यही लगिएको हो ।

प्रदेशको सात मन्त्रालय, सात जना मन्त्री, सात जना मन्त्रालयका सचिव, मुख्य सचिवको निवास र कार्यालयको तयारी अन्तिम चरणमा पुगेको शहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख गंगाप्रसाद यादवले बताए ।

मुख्यमन्त्री राउतद्वारा प्रधानमन्त्रीलाई पत्र पठाइयो

यसैगरी, प्रदेश २ मा कर्मचारीहरु हालसम्म उपस्थित नभएपछि मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले प्रधानमन्त्रीलाई सहयोगका लागि पत्र लेखेका हुन् । प्रदेश २ मा संघीय सचिवालयबाट खटाइएका कर्मचारी बिना जानकारी कार्यस्थलमा नआएपछि मुख्यमन्त्री राउतले प्रधानमन्त्रीलाई सहयोगको लागि शनिवार पत्र लेखेका हुन् ।

मुख्यमन्त्री राउतले आफ्नो प्रदेशमा खटाइएका कर्मचारीहरू अझै पनि उपस्थित नभएको र प्रदेशका लागि चाहिने आवश्यक स्रोत र साधनको पनि अभाव रहेको भन्दै सहयोग गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेका हुन् । मुख्यमन्त्री राउतले प्रम ओलीलाई लेखेको पत्रमा गत फागुन २ गते नै प्रदेश सरकार गठन भएर काम कारबाही अघि बढाउने समयमा कर्मचारीको अभाव तथा भएका कर्मचारीले समेत असहयोग गर्न थालेपछि काम अगाडि बढाउन अप्ठ्यारो भएको उल्लेख गरिएको छ ।

प्रदेश २ को संसद् सचिवालयमा खटिएका २७ कर्मचारीमध्ये सात जना मात्रै आइपुगेका छन् । सह–सचिव दिवाकर पौडेलको नेतृत्वमा सात जना कर्मचारी गत आइतबार आइपुगेका छन् । संसद् सचिवालयमा खटिएका सबै कर्मचारी नआउँदा प्रशिक्षणका लागि केन्द्रीय संसद् सचिवालयबाट आएका चार जना कर्मचारी पनि जनकपुरमै रोकिएका छन् । यस्तै, भौतिक पूर्वाधार विकास मन्त्रालयमा चार जना कर्मचारी मात्रै छन् । ३३ जना कर्मचारी खटाइएको यो मन्त्रालयका अरू कर्मचारी अझै आइपुगेका छैनन् । आर्थिक मामिला तथा योजना मन्त्रालयमा पनि १० जना कर्मचारी मात्रै हाजिर भएका छन् । २७ कर्मचारी खटाइएको यो मन्त्रालयका अन्य कर्मचारी आइपुगेका छैनन् ।