राजनीति

राष्ट्र निर्माणका लागि व्यावहारिक शिक्षाको आवश्यकताः नेता पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्र निर्माणका लागि व्यावहारिक शिक्षाको आवश्यकता रहेको बताएका छन् ।

नवोदित विद्या कुञ्ज उच्च माध्यामिक विद्यालय सामाखुसीको रजत जयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले मुलुकमा तीन तहको निर्वाचनसँगै राजनीतिक संघर्षको लामो इतिहास पूरा भएकाले अब मुलुक विकासका लागि आवश्यक शिक्षा प्रदान गर्नुपर्ने बताए । “मुलुकको योग्य नागरिक निर्माण गर्न नवोदित स्कूलले महत्वपूर्ण शिक्षा प्रदान गर्नुपर्छ”, उनले भने ।

नेता पौडेलले सरकारले सार्वजनिक विद्यालयमा ठूलो लगानी गरे पनि राम्रो शिक्षा नभएको गुनासो बढिरहेको भन्दै निजी विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने बताए ।

बर्दिया क्षेत्र नं १ का सांसद सञ्जय गौतमले नेपाल हरेक वस्तुले धनी मुलुक भएको भन्दै त्यसलाई सही रुपमा उपयोग गर्नका लागि व्यावहारिक शिक्षालाई प्राथमिकता दिनुपर्ने बताए ।

काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष खेमराज तिवारीले गुणस्तरीय शिक्षाको लागि महानगरपालिका सहयोग गर्न तयार रहेको बताए ।

विद्यालयका प्राचार्य राजेन्द्र अधिकारीले सामाखुसी क्षेत्रको शैक्षिक विकासका लागि नवोदित स्कूलले विगत २५ वर्षदेखि महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै आगामी दिनमा यसलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नाका साथै अभिभावक दिवसका विभिन्न कार्यक्रममा उत्कृष्ट विद्यार्थी तथा अभिभावकलाई सम्मान गरिएको थियो ।