शिक्षा

किताब नदेखी वार्षिक परीक्षाको तयारीमा

रुकुम । पूर्वको सिस्ने गाउँपालिका– ३ पोखरास्थित जनता माविमा कक्षा १० का प्रकाश खड्काको एसइइ परीक्षा आउन एक महिना बाँकी भए पनि अहिलेसम्म अनिवार्य नेपाली र स्वास्थ्य तथा जनसंख्या विषयको किताब पाएका छैनन् ।

आठबीसकोट नगरपालिका– २ स्यालाखदीस्थित ज्ञानोदय मावि कक्षा १० का भूपेन्द्र विष्टले पनि शैक्षिकसत्रको अन्त्यमा हुने वार्षिक परीक्षा आउन एक महिनाभन्दा कम समय हुँदासम्म ऐच्छिक भूगोल र शिक्षालगायत किताब पाएका छैनन् ।

यहाँका प्रायः सबै सामुदायिक विद्यालयका विद्यार्थीको त्यही समस्या छ । वर्षिक परीक्षा दिने समय नजिकै आए पनि आफूहरुले अहिलेसम्म नयाँ किताब देख्नसम्म नपाएको ज्ञानज्योति मावि गोतामकोटका विद्यार्थीको गुनासो छ । “किताब ल्याइदिनका लागि बारम्बार विद्यालयमा कुरा गरेको हुँ”, कक्षा १० की छात्रा रमिता यरीले भनिन्, “हामीले अनिवार्य नेपाली, स्वास्थ्य तथा जनसंख्या र ऐच्छिक भूगोल र शिक्षा किताब अहिलेसम्म पनि पाएका छैनौँ ।” आफूहरुले किताब नै नदेखेर परीक्षा दिने तयारी गरिरहेको उनीहरुको भनाइ छ ।

गाउँमा रहेका विद्यालयमा किताब र पढाइसमेत नभएपछि केही विद्यार्थी पढ्नका लागि सदरमुकाम मुसीकोट आएका छन् । परीक्षा आउनलाग्दा समेत आफ्नो विद्यालयमा किताब नपुगेपछि आफूहरु कोठा भाडामा लिएर तीन महिनाका लागि ट्युसन पढ्न सदरमुकाम आउन बाध्य भएको विद्यार्थी सन्दीप केसीले बताए ।

जिल्ला शिक्षा कार्यालयले विद्यार्थी अनुपातमा किताब खरिद गर्न प्राप्त रकम नदिँदा सबै विद्यार्थीलाई नयाँ किताब पु¥याउन नसकिएको शिक्षकको भनाइ छ । केही नयाँ र केही पुराना किताब गरेर पढाइ सञ्चालन भने गरिरहेको ज्ञानज्योति माविका शिक्षक लालबहादुर पुनले बताए । गत वर्ष पनि यहाँका प्रायः सबै सामुदायिक विद्यालयका विद्यार्थीले पाठ्यपुस्तक पाएका थिएनन् ।