आर्थिक

सात करोडको लागतमा सहकारी भवन

पोखरा । पोखरा लेखनाथ महानगरपालिका–१७ बिरौटामा निलगिरि बचत तथा ऋण सहकारी संस्थाले करिब रु सात करोडको लागतमा १५ कोठे भवन निर्माण गरेको छ ।

कास्कीलाई कार्यक्षेत्र बनाएर विगत २० वर्षअघिदेखि सञ्चालनमा आएको संस्थाको नवनिर्मित भवन प्रदेश नं ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले आज उद्घाटन गरे ।

नेपालमा सानो पूँजीको संकलन तथा उपयोगको उद्देश्यका साथ सञ्चालित सहकारीले सामाजिक तथा आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको कुँवरले बताए । कानूनभन्दा कोही पनि व्यक्ति माथि नहुने बताउँदै उनले आफूलाई कानूनको दायरामा राखी क्रियाशील सहकारी राम्रोसँग सञ्चालित भइरहेको उल्लेख गरे ।

बीस वर्षअघि स्थानीय युवाको सक्रियतामा ३० जनाबाट शुरु गरिएको उक्त सहकारीमा हाल रु छ करोड २८ लाख चक्ता पूँजी तथा रु ४६ करोडको कारोबार रहेको छ । उक्त संस्थामा ६०८ जना शेयर सदस्य रहेका अध्यक्ष रवीन्द्र श्रेष्ठले जानकारी दिए ।

जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले सामाजिक दायित्व पूरा गर्दै आएका सहकारीले अब जिल्लाको पहिचान दिनेखालको रणनीति बनाएर अगाडि बढनु पर्ने बताए । जिल्ला बचत संघ कास्कीका अध्यक्ष सुदीप ढकालले मुलुकका ३४ हजार सहकारी संस्थामा ६५ लाखभन्दा बढी शेयर सदस्य आबद्ध रहेको बताउँदै रु ५० अर्बभन्दा बढीको कारोबार गर्दै आएको संस्थाअन्तर्गत ६५ हजार जनाले प्रत्यक्ष रोजगार प्राप्त गरेको जानकारी दिए । उक्त संस्था २०५५ सालमा स्थापना भएको हो ।