पु.समाचार

अतिसंकटापन्न अवस्थामा पुगेको गोहीको गणना शुरु

रत्ननगर, चितवन । चितवनको राप्ती र नारायणी नदीमा अतिसंकटापन्न अवस्थामा पुगेको घडियाल गोहीको गणना आजबाट शुरु भएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोष र जुअलोजिकल सोसाइटी अफ लण्डन तथा हिमालयन नेचरको सहकार्यमा गोही गणना शुरु भएको हो ।
चितवन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका पर्यावरणविद् लक्ष्मण पौडेलले गोही गणनाका लागि नारायणी र राप्ती नदीलाई ११ भागमा बिभाजन गरेर ११ वटा टोली परिचालन गरेर गणकलाई बिहानै नदीमा खटाइ सकिएको जानकारी दिए ।
गणना गर्दा गोही छुट्न सक्ने भएकाले तीन दिनसम्म दोहो¥याएर गणक नदीमा खटिने जनाइएको छ । गणनामा राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक सहयोग रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।

गएको साउनमा आएको बाढीले वन्यजन्तु र जलक्षेत्रमा बस्ने जलचर, उभयचरको बासस्थान प्रभावित हुनुका साथै बगेर भारत पुगेका र मृत्यु समेत भएका पाइएकाले यसपटकको गणनामा गोहीको वास्तविक अवस्था पत्ता लाग्ने राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले जानकारी दिए ।

डुङ्गामा जाने गणकहरुले आँखाले हेरेर नै गोही गणना गर्नेछन् । यो समयमा अधिकांश गोही घाम ताप्न बाहिर निस्कने गर्छ । गणनाका क्रममा गोहीको बच्चा, वयस्क र अर्थवयस्क कति छन्, त्यो समेत मूल्यांकन हुनेछ ।
निकुञ्जका निमित्त प्रमुख बेदबहादुर खड्काकाअनुसार जिल्लाको राप्ती र नारायणी नदीमा कूल १६६ वटा गोही भएको अनुमान छ । सन् २०१६ को गणनाअनुसार बर्दियाको बबई नदीमा ३१ र कर्णालीमा एक गरी नेपालमा कुल १९८ गोही थिए ।

प्राकृतिक बासस्थानका गोही लोप हुँदै गएकाले चितवनमा गोही प्रजनन् केन्द्र स्थापना गरी गोहीलाई हुर्काएर नदीमा छाड्ने गरिएको छ ।