राजनीति

एमाले र माओबादी केन्द्र मन्त्री छान्न आन्तरिक छलफलमा ब्यस्त

काठमाण्डौ । बिहीबारमात्र १० जना नेकपा एमालेबाट र ७ जना माओबादी केन्द्रबाट मन्त्री बनाउन सहमती गरेका दुई पहिलो र तेस्रो ठूला दलहरु आ–आफ्ना पार्टीबाट कस कसलाई मन्त्री बनाउन सिफारिस गर्ने भन्ने आन्तरिक गृहकार्यमा लागेका छन् ।

नेकपा एमालेले बिहान स्थायी कमिटीको बैठक डाकेर नाम टुंगो लगाउदैछ भने माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ, राम बहादुर थापा लगायतका केन्द्रका नेताहरुसंग कसकसको नाम पठाउने भन्ने बिषयमा अन्तिम छलफल गरेका छन् ।

माओबादी केन्द्रले अघिल्लो देउवा सरकारमा मन्त्री भएकाहरुलाई सरकारमा नदोहोर्याउने सहमति गरेपनि केही मन्त्रीहरुले पदमा रहँदा जनताको पक्षमा लोकप्रीय काम गरेकोले दोहोर्याउन सक्ने नेताहरुले बताएका छन् ।

स्थानीय तहको निर्बाचनमा काँग्रेससँग मिलेर निर्बाचनमा होमिएको माओबादी केन्द्रले प्रदेश र प्रतिनिधि सभा निर्बाचनमा निर्बाचन तालमेलसँगै पार्टी नै एकीकरण गर्ने सहमती गरेको थियो । नेपाली काँग्रेस लगायतका नेताहरुले माओबादी केन्द्र र एमालेको एकीकरण निर्बाचन सम्पन्न हुन्जेलसम्म भनेर बिश्लेशण गरेपनि ७ बुंदे सहमतीसहित दुई पार्टी एकीकरणको अन्तिम रुप आउन लागेको अवस्था छ ।

दुई पार्टी एकीकरण गरेर पार्टीको नाम नेपाल कम्न्युष्ट पार्टी राख्ने भनिएपनि निर्बाचन आयोगमा उक्त नामको पार्टी दर्ता भईसकेका कारण बिकल्प खोज्नुपर्ने देखिएको छ ।

यस बिषयमा केन्द्र र एमालेले केही आधिकारिक धारणा सार्बजनिक गरेका छैनन् । माओबादी केन्द्रले एमालेसँगको एकीकरणको बिरोध गर्दै आएका उक्त पार्टीका पुराना नेता गोपाल किराँती सहित तीन नेतालाई साधारण सदस्य नरहने गरी कारबाही गरेको छ । नेकपा एमलेमा समेत माओबादी र एमालेसँग एजेण्डा नमिल्ने हुनाले एकीकरण गर्दा एजेण्डालाई ध्यान दिन नेतृत्वलाई सुझाब बेला बेलामा आईरहेको छ ।