पु.समाचार

ओमकुमारी शान्ति कोष अक्षयकोषका लागि डेढ करोड सहयोग

money

बेनी, म्याग्दी । म्याग्दी जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको रु एक करोड ५० लाखको अक्षयकोषका लागि जापानमा रहेका एक म्याग्देलीले रु ५२ हजार आर्थिक सहयोग गरेका छन् ।

म्याग्दी जिल्लामा आर्थिक अवस्था कमजोर भएकाको उपचारमा सक्रिय कोषले जापानमा रहेका म्याग्देलीबाट संचालन गरिएको आर्थिक संकलन अभियानमा बेनी नगरपालिका–९, घतान काउलेगौडा स्थायी घर भई हाल जापानमा रहेका गणेश श्रेष्ठले रु ५२ हजार सहयोग गरेको हो । कोषमा अहिलेसम्म रु ८० लाखभन्दा बढी रकम जुटिसकेको छ ।

व्यक्तिगत खर्चमा जापानमा पुगेका कोषका अध्यक्ष राजेश शाक्यलाई आर्थिक सहयोग हस्तान्तरण गर्दै मोना जापानका सल्लाहकार समेत रहेका श्रेष्ठले ओमकुमारी शान्ति कोष म्याग्देली जनताका लागि बरदान सावित भएको बताउनुभएको कोषका अध्यक्ष शाक्यले जानकारी दिए । सहयोगलाई गरिब तथा विपन्नको हितमा खर्च गर्नेछौँ, शाक्यले भने ।

बेनी नगरपालिका–४ की ओमकुमारी शान्ति पुन हाइपोपलास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा सहयोग जुटाउन शुरू भएको अभियानको क्रममा निधन भएपछि ओमकुमारीको नाममा कोष स्थापना गरिएको हो । ओमकुमारी शान्ति कोषले अहिलेसम्म ५४ जनाको उपचारमा सहयोग गरेको छ ।

कोषमार्फत रक्त क्यान्सर, मुटु, मिर्गौला, हाडजोर्नी, आँखा, नशालगायत विभिन्न किसिमका रोगको उपचारमा भइरहेको छ । जिल्लाको एकमात्रै परोपकारी संस्थाको रुपमा समेत कोषले आफ्नो पहिचान बनाउन सफल भएको छ । गरिब तथा विपन्न वर्गको उपचारका साथै भूकम्प, बाढीपहिरो पीडितलाई समेत आर्थिक सहयोग गर्ने गरेको छ ।

रु एक करोड ५० लाखको अक्षय कोषको स्थापना गरी विपन्नको उपचारलाई थप प्रभावकारी बनाउने गरी यस अगाडि कतार, बहराइनमा समेत आर्थिक संकलन गरिएको छ । संस्थाको विधानमा व्यक्तिगत रु दुई लाख र संस्थागत रु तीन लाख सहयोग गर्नेलाई संरक्षक घोषणा गर्ने प्रावधान रहेको छ ।