आर्थिक

सानिमा बैंकद्वारा क्रिकेटर लामिछानेलाई प्रायोजन

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दिप लामिछानेलाई सानिमा बैंकले दुई वर्षका लागि थप प्रायोजन गरेको छ ।

बैंकद्वारा आज यहाँ आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भूवन दाहाल र खेलाडी लामिछानेले दुई वर्षका लागि थप प्रायोजन गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौताअनुसार लामिछानेले अब मासिक रु ४० हजार पाउनेछन् । बैंकले यसअघि उनलाई मासिक रु २० हजार दिँदै आएको थियो । हालै इन्डियन प्रिमियर लिग आइपिएलमा छनोट भएका त्रिकेटर लामिछानेको यो सम्झौता आगामी अप्रिलदेखि लागू हुनेछ ।

सिइओ दाहालले त्रिकेटर लामिछाने क्रिकेटमा हुनाहार खेलाडी भएकाले प्रोत्साहन स्वरुप उनलाई प्रायोजन गरिएको बताए । त्यस्तै क्रिकेटर लामिछानेले सम्झौताले क्रिकेट खेलमा अझै राम्रो प्रदर्शन गर्न हौसला थपिएको बताए ।

कार्यक्रममा सानिमा बैंकका ब्राण्ड एम्बेस्डरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले खेलाडी लामिछाने र राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई सम्मान गरे ।