पु.समाचार

नेपाल भ्रष्टाचारको १२२औँ स्थानमा

पोखरा । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआइ) द्वारा आज सार्वजनिक गरिएको भ्रष्टाचार सूचाङ्कानुसार नेपाल भ्रष्टाचार हुने देशहरुको सूचीमा १२२औँ स्थानमा छ ।

सुशासनका लागि नागरिक समाज कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा टिआइले १८० देशलाई समेटेर गरेको भ्रष्टाचारसम्बन्धी विश्वव्यापी सूचाङ्कमा गत वर्षका तुलनामा नौ स्थान माथि उक्लिँदै नेपाल ३१ अंकसहित १२२औँ स्थानमा परेको जनाइएको छ । राजनीति, वित्तीय अनुशासन, न्यायमा पहुँचलगायत छ मापदण्डका आधारमा देशलाई शून्यदेखि १०० सम्म अंक दिइएको थियो । शून्य अंक पाएमा सबैभन्दा भ्रष्टाचार हुने र १०० अंक प्राप्त गरेमा भ्रष्टाचार हुँदै नहुने भनेर छुट्याउने आधार थियो ।

विश्व बैंक, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउण्डेशन, वल्र्ड जस्टिम प्रोजेक्ट र भिडिइएमसमेत छ संस्थाद्वारा गरिएको सर्वेक्षणअनुसार पत्रकार र नागरिक संस्थाको सुरक्षाको प्रत्याभूति नभएका देशमा भ्रष्टाचार बढी हुने गरेको छ । तथ्यांकअनुसार सबैभन्दा कम भ्रष्टाचार हुने देशको सूचीमा ८९ अंक प्राप्त गरी पहिलो नंमा न्यूजिल्याण्ड र ८८ अंक प्राप्त गरी डेनमार्क दोस्रो स्थानमा छन् भने सोमालिया नौ अंक प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा छ ।

दक्षिण एशियाका देशमध्ये अफगानिस्तान अन्तिमबाट चौथो स्थानमा अर्थात् १५ अंक प्राप्त गरी १७७ औँ स्थानमा रहनाका साथै बंगलादेश १४६औँ, पाकिस्तान १२३औँ, माल्दिभ्स ११८औँ, श्रीलंका ९७औँ, भारत ८५औँ र भुटान २९औँ स्थानमा छन् । तथ्यांकअनुसार चीन ७७ औँ स्थानमा परेको छ । भ्रष्टाचार न्यूनीकरणका लागि नागरिक समाज र मिडियाको महत्वपूर्ण भूमिका रहने टिआइ नेपालका पूर्वउपाध्यक्ष आनन्दराज मुल्मीले बताए ।