कृषि

गाईभैँसी पालेर दूध बेच्दै आएका कृषक पौडेलले ब्यवस्थित पशुपक्षी फार्म स्थापना

बाबियाचौर, म्याग्दी । बेनी नगरपालिका–६ बाँसबोटमा एकजना कृषकले रु १८ लाखको लगानीमा पशुपक्षी फार्म स्थापना गरेका छन्। परम्परागतरुपमा गाईभैँसीपालन गरेर दूध उत्पादन गर्दै आउनुभएका बाँसबोटका दुर्गाप्रसाद पौडेलले पशुपालन पेशालाई व्यावसायिक बनाउन वरदान पशुपक्षी फार्म स्थापना गरेका हुन् ।

फार्म स्थापनाका लागि गोठ निर्माण, गाईभैँसी र राँगो खरिद गर्न रु १८ लाख लगानी भएको पौडेलले बताए । विसं २०५२ देखि परम्परागत रुपमा गाईभैँसी पालेर दूध बेच्दै आएका उनले पशुपालन पेशालाई व्यवस्थित र व्यावसायिक बनाउन फार्मको स्थापना गरेका हुन् ।

फार्ममा हाल दशवटा मुर्रा जातको भैँसी तथा एक÷एकवटा जर्सी गाई र राँगो रहेको छ । तीन जनाले पूर्णरुपमा रोजगारी पाएका छन् । दैनिक १०० लिटर दूध उत्पादन हुने गरेको छ । सदरमुकाम बेनी बजारमा प्रतिलिटर रु ७० का दरले दूध बिक्री गर्ने गरेको उनले बताए । पौडेलले दूध बेचेको आम्दानीले घर निर्माणका साथै सात रोपनी जग्गा जोडेका छन् । छोराछोरीको पढाइ र घरव्यवहार चलाउन आम्दानीको स्रोत दूध बनेको छ ।

पौडेलले बेनीको एक निजी विद्यालयमा १४ वर्षसम्म कार्यालय सहयोगीका रुपमा काम गरेका थिए । पाँच वर्षअघि निजी विद्यालयको जागीर छोडेर भैँसीपालन शुरु गरेका उनले भैँसी खरिद बिक्रीसमेत गर्दै आएका छन् । उनले जिल्ला पशुसेवा कार्यालयबाट व्यावसायिक पशुपालन र गुणस्तरीय दूध उत्पादन सम्बन्धि तालीम लिएका छन् ।