शिक्षा

निजीका कारण सरकारी विद्यालयमा विद्यार्थी घट्दै

पथरी, मोरङ । वरपरका निजी विद्यालयमा विद्यार्थी भरिभराउ भइरहँदा उर्लाबारीका सामुदायिक विद्यालयमा संख्या पातलिएको छ । शहरका तुलनामा गाउँका विद्यालयमा विद्यार्थी थोरै पाइएको हो ।

प्रायः अभिभावकको आकर्षण निजी विद्यालयप्रति बढ्दै गइरहेको छ । निजी विद्यालयप्रति अभिभावकको आकर्षण बढ्दा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्यामा कमी आएको हो । निजीको तुलनामा सरकारी विद्यालयको पूर्वाधार राम्रो बनाउँदै लगिए पनि विद्यार्थीको संख्यामा भने कमी आइरहेको छ ।

एकताका सामुदायिक विद्यालयमा विद्यार्थी खचाखच हुन्थे, कक्षा कोठालाई सेक्सन ‘ए’, ‘बी’ र ‘सी’ सम्म राखिएको पाइन्थ्यो, तर अचेल एउटा कक्षामा चार–पाँचजना मात्र विद्यार्थी पाइन्छन् । विद्यार्थीभन्दा शिक्षक–कर्मचारीहरुको संख्या नै बढी देखिन थालेको छ ।

उर्लाबारीको महाराज आधारभूत विद्यालयमा पनि विद्यार्थीको संख्या निक्कै कम छ । समाचारका लागि विद्यालय पुग्दा कक्षा २ मा दुई र ५ कक्षामा पाँच विद्यार्थी मात्र पठनपाठन गरेको पाइयो । अन्य कक्षामा पनि संख्या उस्तै छ । तर शिक्षक भने विद्यार्थी गयल भएको बताउँछन् ।

सामुदायिक विद्यालयको पढाइ खस्किएको भन्दै अभिभावकले निजी विद्यालयमा छोराछोरी पठनपाठनका लागि भर्ना गरेपछि विद्यालयमा विद्यार्थीको संख्या घटेको हो । तर विद्यालयका प्रअ गजेन्द्र राई पठनपाठनमा कमी नआएको बताउछन , “अहिले अभिभावकहरु सम्पन्न हुनुभएको छ । त्यसैले पनि उहाँहरु निजी विद्यालयमा छोराछोरी पढाउछन् ।”

यद्यपि, आफूहरुले विद्यार्र्थी पुनः विद्यालयमा फर्काउनका लागि विभिन्न तारतम्य गरिरहेको प्रअ राईको भनाइ छ । उनले भने, “नजिकै बोर्डिङ खुलेपछि हाम्रा विद्यार्थी त्यहाँ गए ।”

उर्लाबारीकै प्रभात आधारभूत विद्यालयमा पनि पहिलेको तुलनामा विद्यार्थी संख्या घटेको छ । अहिले विद्यालयमा १२ जना विद्यार्थी रहेको प्रअ मोहन चापागार्इंले बताए। तर अन्य विद्यालयको तुलनामा आफ्नो विद्यालयमा संख्या उल्लेख्य नै रहेको प्रअ चापागाईंको भनाइ छ ।

सामुदायिक विद्यालयमा पहिलेको तुलनामा विद्यार्थी घटेकै हो, यसमा विभिन्न कारण छन्, प्रअ चापागार्इं बताउछन् “विषयगत शिक्षकको पूर्ण मात्रामा दरबन्दी नहुनु, निजी विद्यालय प्रशस्त मात्रामा हुनु पनि विद्यालयमा विद्यार्थी घट्नुका प्रमुख कारणहरु हुन् । उनका अनुसार पहिले एउटै घरका चार–पाँचजना छोराछोरी विद्यालयमा पढ्न आउँथे । तर अहिले चेतनाका कारण पहिले जस्तो धेरै सन्तान जन्माउने घटेका कारण पनि विद्यार्थी संख्या पनि घटेको उनको बुझाइ छ ।

आफ्नो विद्यालयमा गुणस्तरीय शिक्षामा कमी नआएको उनले दाबी गरे । आजभोलि सामुदायिक विद्यालयमा विपन्न परिवारका छोराछोरी मात्र पढ्ने ठाउँ बनेको छ जसका अभिभावक दिनभर ज्यालामजदुरी गर्छन् । उनीहरुलाई सामुदायिक विद्यालयमा नै छोराछोरी पढाउन पनि हम्मे पर्छ । विद्यालय गएर आफ्ना छोराछोरी कस्तो पढिरहेका छन्, बुझ्न जानेसम्म फुर्सद हुँदैन ।

निजी विद्यालयमा विद्यार्थी ओइरिनुको मुख्य कारण भनेको अंग्रेजी शिक्षा नै हो । छोराछोरीहरु राम्रो अंग्रेजी पढ्न, लेख्न र बोल्न सक्छन् भनेर पनि निजी विद्यालयमा नानीहरु पठनपाठन गराएका हौँ, उर्लाबारी–६ की कञ्चन भण्डारी बताउछन । “नियमित होमवर्क र बालबालिकाको अन्तरनिहित प्रतिभामा निजी विद्यालयले ध्यान दिएको पाइन्छ । स्कूल बसले नानी घरसम्म ल्याइदिने पु¥याइदिने गर्छ । सरसफाइलगायत सुरक्षामा पनि ध्यान दिएकाले सामुदायिकको तुलनामा चिन्तामुक्त हुन्छौँ,” उनी भन्छन् ।

सामुदायिकमै राम्रो पढाइ भए निजी विद्यालयमा आर्थिक भार बोकेर छोराछोरी पढाउने रहर नभएको उनको भनाइ छ । उर्लाबारीकै राजघाट निमाविमा पनि विद्यार्थीको संख्या निक्कै घटेको छ । विद्यालयकी एक अभिभावक मनिषा कार्कीले खुलेरै शिक्षक तथा विद्यालयको विरोध गरे। उनले आक्रोशित हुँदै भने, “मेरो नानी बोर्डिङ स्कूल हँदा एबिसिडी फरर लेख्थी । आर्थिकभार धान्न नसकेर यहाँ पढाउन थालेको, बोर्डिङमा जानेको पनि यहाँ आएपछि सबै लेख्न बिर्सीई । यसैबाट प्रस्ट हुन्छ गुणस्तर कस्तो छ ।”