अन्तर्राष्ट्रिय

रुस र सिरियाको संयुक्त हवाई कारबाहीमा २५० सर्वसाधारण मारिए

आर्बिन, सिरिया । दमासकसको बाहिरी इलाकाको पूर्वीभागमा पर्ने गुटामा आइतबारबाट सुरु भएको सिरिया र रुसको संयुक्त हवाई कारबाहीमा परी २५० जना सर्वसाधारण मारिएका सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

यस हवाई कारबाहीमा परी दर्जनौ बालबालिका मारिएका छन् । सिरियामा जारी सात बर्ष लामो द्वन्द्वको क्रममा यो एक रक्तपातपूर्ण कारबाहीको रुपमा रहेको छ ।

विद्रोहीको बलियो प्रभाव रहेको यस इलाकामा विद्रोहीलक्षित मङ्गलबार गरिएको सो हवाई कारबाहीमा १९ बालबालिकासहित कम्तीमा १०६ सर्वसाधारण मारिएका अब्जरभेटरी जनाएको छ । त्यसैगरी सोमबार पनि गुटामा भएको हवाई कारबाहीमा परी १२७ भन्दा बढी व्यक्ति मारिएका थिए ।

सन् २०१३ यता घेराबन्दीमा रहेको पूर्वी गुटामा करिब ४ लाख मानिसको बसोबास रहेको छ । यस यस प्रंकारको बमबारी रोक्न संयुक्त राष्ट्रसंघका एक अधिकारीले आग्रह गरेका थिए । हाल त्यहाँको अवस्था नियन्त्रणबाहिर गइरहेको प्रतिक्रिया उनीले दिनु भएको थियो ।

गुटा राजधानी दमासकसनजिकै विद्रोहीहरूको बलियो प्रभाव रहेको एकमात्र बाँकी क्षेत्र हो । त्यस क्षेत्रमा पुनः नियन्त्रण कायम गर्न सिरियाली सुरक्षाबले प्रयास जारी रहेको र यसमा रुसको पनि सहयोग रहेको छ ।,

सिरियामा सन् २०११ को मार्चबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै आन्दोलन सुरु भएको थियो । सो आन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो ।

सो गृहयुद्धमा आतङ्ककारी समुह अल कायदा र इस्लामिक स्टेट्स हाबी हुँदै गयो । जारी सो द्वन्द्वमा परी सो समयदेखि हालसम्म तीन लाख ४० हजारभन्दा बढी व्यक्ति मारिएका छन् । त्यसैगरी लाखौं घाइते भएका छन भने, लाखौं घरबार बिहीन भई स्वदेश र विदेशमा शरणार्थी जीवन विताउन बाध्य छन ।