राजनीति

काँग्रेस नेतृत्वको मन्त्रिपरिषद निर्णय ओलीले उल्ट्याएपछि तरुण दल आक्रमक

काठमाण्डौ । नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दलले राष्ट्रपतिको कदमबिरुद्ध आन्दोलन गर्ने भएको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले एक बिज्ञप्ती जारी गर्दै राष्ट्रिय सचामा मनोनित गर्ने ३ जनाको नाममा अघिल्लो सरकारले सिफारिस गरेका तीनजनाको नाम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि उल्ट्याएर नयाँ नामहरु पठाएपछि उक्त कदम असंबैधानिक भन्दै ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको बताएका छन् ।

अध्यक्ष बस्नेतले आज ३.०० बजे राजधानीमा उपलब्ध तरुणहरुलाई राष्ट्रपति भबन शीतल निवासमा उपस्थित हुन आग्रह समेत गरेको छ । तरुण दलको उक्त कार्यक्रमले उग्र रुप लिने अनुमान लगाउदै शीतल निवास वरपर थप कडा सुरक्षा ब्यबस्था गरिएको छ ।

उनले सामाजिक सञ्जाल फेसबुकमा जारी गरेको बिज्ञप्तीमा भनिएको छ, “राष्ट्रिय सभा सदस्य सिफारिस सम्बन्धि नेपाल सरकारको निर्णयलाई वेवास्ता गरी मिति २०७४–११–८ गते नाटकीय तबरले गरिएको सिफारिसलाई कार्यान्वयन गर्ने सम्माननिय राष्ट्रपतिको असंबैधानिक कदम प्रति नेपाल तरुण दलको गम्भिर ध्यानाकर्षण भएको छ । समग्र राष्ट्र र संविधानको अभिभावकको भुमिकामा रहनुभएको राष्ट्रपति स्वयले पदिय मर्यादाको गरिमालाई भुलेर दल बिशेष इच्छा एवम् स्वार्थ पुर्ति गर्ने गरी सो कार्य गरेको ठहर नेपाल तरुण दल गर्दछ । नेपालको कानुन र संविधानको मर्मका प्रति सम्माननीय राष्ट्रपतिज्यूको कर्तब्यका सम्बन्धमा उहाँलाई झक्झकाउने उद्धेश्यले आज २०७४–११–९ गते बुधवार दिनको ठिक ३ बजे राष्ट्रपति भवन शीतल निवासमा समाननिय राष्ट्रपतिलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको हुँदा सबै तरुण मित्रहरुलाई उपस्थितिको लागी आग्रह गर्दछु । जय नेपाल जय तरुण !!!”

तरुण दलको मातृपार्टी नेपाली काँग्रेसले मंगलबार नै एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको निर्णयले काँग्रेसलाई दुःख लागेको बताईसकेको छ । मंगलबार काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको उक्त निर्णयको बिरोध गरेका थिए ।