खेलकुद

मेयर कप भलिबलको उपाधि सूर्यविनायकलाई

भक्तपुर । भक्तपुर नगरपालिकाले आयोजना गरेको अन्तर नगर मेयर कप भलिबल प्रतियोगिताको उपाधि सूर्यविनायक नगरपालिकाले हात पारेको छ ।

यही फागुन ३ गतेदेखि शुरुको उक्त प्रतियोगिताअन्तर्गत आज भएको फाइनल खेलमा सूर्यविनायक नगरपालिकाले गोदावरी नगरपालिकालाई ३–१ सेटले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । पहिलो सेट २६–२४ र दोस्रो सेट २५,–२३ ले विजयी भएको सूर्यविनायक तेस्रो सेटमा भने २५–२३ को पराजय भोग्यो ।

त्यस्तै, खेलको अन्तिम सेटमा २५–१५ ले आफ्नो पक्षमा पार्दै सूर्यविनायकले उपाधि चुम्न सफल भयो ।

त्यसैगरी, प्रतियोगितामा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले तेस्रो स्थान हासिल गर्न सफल भयो भने ललितपुर महानगरपालिका चौथो स्थानमा चित्त बुझाउन बाध्य भएको छ ।

प्रतियोगितामा उपाधिसहित सूर्यविनायकले रु एक लाख ५१ हजार पुरस्कार प्राप्त गरेको छ ।
त्यस्तै, दोस्रो स्थान हासिल गरेको गोदावरी नगरपालिकाले रु ७५ हजार, तेस्रो स्थान हासिल गर्ने तिलोत्तमा रु ३० हजार र चौथो हुने ललितपुरले रु २० हजार नगदसहित शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

विजेता नगरपालिकालाई प्रतिनिधिसभा सदस्य एवं नेपाल मजदुर किसान पार्टी सचिव प्रेम सुवालले पुरस्कार प्रदान गरे । प्रतियोगितामा २१ वटा नगरपालिकाको सहभागिता रहेको थियो ।