साहित्य

मातृभाषाको यथोचित संरक्षण हुन नसकेकोमा चिन्ता

काठमाडौँ । नेपालमा धेरै भाषा र वेषभूषा भए पनि उक्त भाषाको यथोचित संरक्षण हुन नसकेको चिन्ता व्यक्त गरिएको छ ।  नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा आयोग र युनेस्को काठमाडौँद्वारा विश्व मातृभाषा दिवसका अवसरमा आज यहाँ आयोजना गरिएको ‘मातृभाषा विचार गोष्ठी–२०७४’ का वक्ताले प्रविधिको प्रयोग र बसाइँसराइका कारण मातृभाषाको प्रयोगमा कमी हुँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले नेपालमा धेरै मातृभाषा भए पनि क्रमशः लोप हुँदै गएको भन्दै यसको संरक्षणका लागि विद्यालयदेखि मातृभाषामा शिक्षा दिनुपर्ने बताए ।

“धेरै भाषा मरणासन्न अवस्थामा पुगेका छन्, यसलाई जोगाउनका लागि विद्यालयदेखि नै मातृभाषा शिक्षा दिनु जरुरी छ,”– उनले भए ।

भाषा आयोगका अध्यक्ष डा लवदेव अवस्थीले मातृभाषा स्थापित भयो भने राष्ट्रिय भाषा र अंग्रेजी भाषाको अस्तित्व समाप्त हुन्छ, भन्ने डरले मातृभाषालाई सरकारले बेवास्ता गरेको आरोप लगाए । भाषाप्रति फैलिँदै गएको भ्रमलाई मेटाउनु अहिलेको मुख्य चुनौती भएको उनको भनाइ थियो ।

नेपालका लागि बंगलादेशका राजदूत मास्फी विन्टे शाम्सले मातृभाषाको विकास र विस्तारमा बंगलादेशले महत्वपूर्ण भूमिका खेलेको बताउँदै नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा साहित्यमा पु¥याएको योगदानको प्रशंसा गरे । भाषा आन्दोलनका क्रममा बंगलादेशको ढाका विश्वविद्यालयमा धेरैले ज्यान समेत गुमाएका थिए ।

प्रतिष्ठानका उपकुलपति डा विष्णुविभु घिमिरेले नेपाली मातृभाषाको विकासका लागि प्रतिष्ठानले सधैँ काम गरिरहेको बताए । “विभिन्न भाषाको अध्ययन र अनुसन्धानका लागि खोज गर्नुका साथै विभिन्न समयमा गोष्ठी गर्दै आइरहेका छौँ,”–उनले भने ।

प्रज्ञा प्रतिष्ठानले मैथली, भोजपुरी, सिञ्जाली, गुरुङ, नेपालभाषा, लिम्बूभाषालगायत मातृभाषामा शब्दकोष तथा व्याकरण प्रकाशन गरिसकेको प्रतिष्ठानका सदस्यसचिव प्राडा जीवेन्द्रदेव गिरीले जानकारी दिए । अहिले नेपालमा आगन्तुक र नेपालमै उत्पत्ति भएका १२३ भाषा प्रचलनमा रहेका छन् ।