पर्यटन/संस्कृति

अन्तर्राष्ट्रिय केःलाङ महोत्सव शुरु

पाँचथर । पाँचथर सदरमुकाम फिदिममा आइतबारदेखि अन्तर्राष्ट्रिय केःलाङ (च्याब्रुङ नाँच) महोत्सव शुरु भएको छ । किरात लिम्बू जातिको लोकप्रिय नाँच च्याब्रुङ नाँचको संरक्षण र विकासका लागि महोत्सवको आयोजना गरिएको महोत्सव मूल आयोजक मूल समारोह समितिले जनाएको छ । स्थानीय फिदिम माविको खेलमैदानमा महोत्सव शुरु भएको हो ।

महोत्सवअन्तर्गत आइतबार भारतको आसाम, सिक्किम र नेपालका विभिन्न जिल्लाबाट आएका च्याब्रुङगे टोलीलाई लाम्दाक अर्थात स्वागत गरिएको थियो भने च्याब्रुङ नाचसहित बजार परिक्रमा गरिएको थियो ।

महोत्सवको मंगलबार प्रदेश नम्बर १ का प्रदेश प्रमुख डा गोविन्दबहादुर तुम्बाहाम्फेले औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सव मूल समारोह समितिका अध्यक्ष मनकुमार केरुङले बताए ।

महोत्सवमा लिम्बू जातिको मौलिक वेशभूषा, परिकार, फोटो र पुस्तकको स्टलसमेत रहेका जनाइएको छ ।

त्यस्तै, भोलि केःलाङ र केसामबारे कार्यपत्र प्रस्तुति र छलफलसमेत हुने महोत्सव मूल समारोह समितिका सचिव मधुराज केरुङले बताएका छन् ।