अन्तर्राष्ट्रिय

इरानमा भएको विमान दुर्घटनाबाट राष्ट्रसंघीय महासचिव स्तब्ध

संयुक्त फागुन । इरानमा आइतबार भएको यात्रुबाहक विमान दुर्घटनामा परी ६५ जनाको मृत्यु भएको घटनाले आफू स्तब्ध भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले बताएका छन् ।

इरानको जाग्रोसस्थित पहाडी क्षेत्रमा आइतबार सो विमान दुर्घटनाग्रस्त भएको थियो । असेमान एयरलाइन्सको विमान तेहरानको मेहरावाद विमानस्थलबाट यासुजतर्फ जाँदै गरेको एयरलाइन्स दुर्घटनाग्रस्त भएको छ ।

सो विमान दुर्घटनाबाट ६५ जनाको ज्यान गएको घटनाले आफू निकै स्तब्ध भएको महासचिव गुथ्रेसका उपप्रवक्ता फराह हकले जानकारी दिएका छन् ।

महासचिव गुथ्रेसको तर्फबाट प्रकाशित सो विज्ञप्तिमा उक्त दुर्घटनामा परी ज्यान गएका व्यक्तिहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको छ । साथै शोकमग्न परिवारप्रति हार्दिक समवेदना पनि व्यक्त गरिएको छ ।

जाग्रोस पहाडी क्षेत्रमा रहेको डेना पहाडमा विमान दुर्घटना भएको हो । घटनास्थल यासुजदेखि २३ किलोमिटर र राजधानीदेखि ५०० किलोमिटर टाढा पर्दछ ।

इराकमा बम आक्रमण
बग्दाद । इराकको पूर्वी प्रान्त दियालामा आइतबार एक बम विस्फोट भएको छ । यस विस्फोटमा परी कम्तीमा छ व्यक्ति घाइते भएका छन ।
विस्फोटमा संलग्न अपराधी समुहका प्रमुखलाई प्रहरीले पक्राउ गरेको सुरक्षा स्रोतले जनकारी दिएको छ ।
पूर्वी बग्दादको मेसालोन स्क्वायरनजिकै आइतबार साँझ यो विस्फोट भएको थियो । यस विस्फोटमा परी छ व्यक्ति घाइते हुनुको साथै नजिकै रहेका भवन र पसलहरु क्षतिग्रस्त भएका सरकारी अधिकारीहरुले जानकारी दिएका छन ।
त्यसैगरी इराकी सुरक्षाबलले गुप्तचर निकायले दिएको एक जानकारीअनुसार अपराधीक कार्यमा लागेका एक समुह लुकेर बसेका स्थानमा कारबाही गरेको छ ।
सो कारबाहीको क्रममा सो समुहका कमाण्डरसहित पक्राउ परेका छन । पक्राउ परेका ती कमाण्डरको अपहरण र हत्या बलात्कारलगायतका ३८ वटा काण्डका सहभागीता रहेको बताइएको छ ।