शिक्षा

प्रत्येक विद्यालयमा प्राथमिक उपचार बाकस

जाजरकोट । विद्यालयमा हुने विभिन्न खालका स्वास्थ्य समस्यालाई समाधान गर्न प्रत्येक विद्यालयमा प्राथमिक उपचार बाकसको स्थापना गरिने भएको छ ।

जिल्लाको नलगाड नगरपालिकाभित्र रहेका सबै विद्यालयमा तालीम प्राप्त शिक्षकको व्यवस्थासहित प्राथमिक बाकसको व्यवस्था गर्न लागेको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताए । एक महिनाभित्र प्राथमिक उपचार बाकसका लागि शिक्षकलाई स्वास्थ्यसम्बन्धी तालीम दिन लागिएको हो । नगरपालिकाभित्र रहेका ७३ वटा सामुदायिक विद्यालयका प्रतिविद्यालय एकजना शिक्षक पर्ने गरी तालीम दिन लागिएको उनले बताए ।

विद्यालयमा पटक–पटक आकस्मिक रुपमा विभिन्न खालका स्वास्थ्य समस्य देखापर्न थालेपछि यस्तो अभियानमा लागिएको रावलले बताउनुभयो । विद्यालयमा आवश्यक औषधि, प्राथमिक उपचारका लागि तालीम प्राप्त शिक्षकको व्यवस्था गरेमा केही स्वास्थ्यसम्बन्धी समस्या हल हुने नगरपालिकाले अपेक्षा लिएको रावलको भनाइ छ ।

आइतबार नगरपालिकाको कार्यालयमा सबै विद्यालयका प्रधानाध्यापकको उपस्थितिमा यस्तो निर्णय गरिएको छ । पटक–पटक विद्यालयमा विभिन्न खालका रोग देखापरी समस्या उत्पन्न भएको शिक्षकको गुनासो आएपछि नगरपालिकाले यस्तो कदम चालेको हो । यहाँका अधिकांश विद्यालय स्वास्थ्य संस्थाभन्दा घण्टौँ टाढा भएपछि विद्यालयमा स्वास्थ्यसम्बन्धी केही समस्या हल होस् भनी यो कार्य थालिएको जिल्ला शिक्षा कार्यालयका स्रोतव्यक्ति योगेन्द्र आरसीले जानकारी दिए ।

प्रत्येक महिना नगरपालिका भित्रका विद्यार्थीको स्वास्थ्य परीक्षण गर्नका लागि पहल गर्न लागिएको उपप्रमुख बालकुमारी बस्नेतले जानकारी दिए । बालबालिका स्वस्थ भएमा मात्र शिक्षा आर्जन गर्न सकिने उनको भनाइ छ ।

त्यस्तै, नगरपालिका भित्रका विद्यार्थीका लागि प्रतिभा छनोट कार्यक्रमसमेत गर्न लागिएको छ । शैक्षिक अवस्था सुधारका लागि नगरपालिकाले कुनै कसर बाँकी नराख्ने बस्नेतले बताए ।