पु.समाचार

दोस्रो पटक निर्वाचन दिवस मनाउँदै आयोग

काठमाडौँ । निर्वाचन आयोगले दोस्रो निर्वाचन दिवसलाई भव्यताका साथ मनाउने भएको छ । त्रिदिवसीय कार्यक्रम पारित गरी फागुन ५ देखि ७ गतेसम्म विभिन्न कार्यक्रम गरिने आयोगले आज विज्ञप्तिमार्फत जनाएको हो ।

कार्यक्रमको पहिलो दिन शक्रबार आयोग परिसरमा आयोजित रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका थिए । दोस्रो दिन आज प्रभातफेरि आयोजना गरियो । प्रमुख निर्वाचन आयुक्त, निर्वाचन आयुक्तको नेतृत्वमा भएको प्रभातफेरी आयोगबाट सुरु भई दरवार मार्ग, भद्रकाली, सहिद गेट, रत्नपार्क हुँदै पुनः आयोग परिसर पुगेर टुङ्गिएको थियो ।

आयोगले आजै सांसद, संविधान एवं कानूनविद् तथा राजनीतिक दलका प्रतिनिधिहसँग स्वतन्त्र र स्वच्छ निर्वाचन विषयक अन्तरक्रियात्मक कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त, निर्वाचन आयुक्त, आयोगका सचिव, सहसचिवलगायतको उपस्थिति रहेको थियो ।

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा विविध कार्यक्रमका साथ दिवसलाई मनाउन लागेको आयोगका प्रवक्ता नवराज ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।