समाचार

काठमाण्डौको आलोकनगर अब फोहरमुक्त

काठमाडौँ । टोलका महिला जुटेर सफाइ अभियानमा लागेको ४५ हप्तामा काठमाडौँ महानगरपालिका–३१ मीनभवनस्थित आलोकनगर फोहरमुक्त भएको छ ।

आलोकनगरका ठाउँ ठाउँमा डोको बाँधेर राखिएको छ । स्थानीयवासीले त्यही डोकामा ल्याएर फोहर हाल्न थालेपछि सो क्षेत्रमा मास्कबिना हिँड्न सकिने देखिएको ‘क्लिन काष्ठमण्डप’का अभियानकर्मी केपी खनालले जानकारी दिए ।

अभियान गत पुस २७ गते शुरु भएको थियो । “डोकोमा जम्मा पारेर राखिएको फोहर महानगरपालिकाले नउठाउँदा भने समस्या परेको छ, आफ्ना सफाइ कर्मचारी परिचालन गरेर फोहर उठाउन नसकेको महानगरपालिकाले टोलवासीले उठाइदिएको फोहरसमेत व्यवस्थापन गरेन”, उनले भने ।

आलोकनगरका सकारात्मक मातृशक्ति समूहमा आबद्ध महिलाले सफाइमा उदाहरणीय काम गरेपछि अभियानले आज उनीहरुलाई ३० ‘डष्टबिन’ हस्तान्तरण ग¥यो । ‘डष्टविन’ हस्तान्तरण गर्दै जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले धुलो, धुवाँ एवं मास्क लगाउने मानिसमुक्त काठमाडौँ बनाउने अभियानमा मन्त्रालय लागेको जानकारी दिए ।

“अब सार्वजनिकस्थलमा कसैले फोहर फालेमा कानूनमा व्यवस्था भएअनुसार कारबाही हुन्छ, राजधानीलगायत शहरमा प्लाष्टिकले धेरै फोहर गरेको छ, प्लाष्टिक, सुर्ती, खैनी एवं रिचार्ज कार्डका खोलले पनि धेरै फोहर बढाएका छन्, यस्ता चिज उत्पादन गर्ने संस्थाले नै व्यवस्थापन गर्नुपर्छ, यसका लागि छलफल अघि बढाउँछु”, उनले भने ।

सो अवसरमा सफाइलगायत सामाजिक अभियान चलाइरहेको ‘दाह्री ग्याङ’, वाग्मती सफाइ महाअभियानका किशोरसिंह शाही, चक्रपथ सफाइ अभियानका संयोजक लोकबहादुर टण्डन, आलोकनगर सफाइ अभियानकी प्रमिला पौडेललगायतले गाउँ, टोल सफाइ गरे शहर एवं नगर सफा हुने बताए ।

सो अवसरमा एक घण्टा सफाइ गरी पाँच डोको फोहर पनि उठाइएको थियो ।