पर्यटन/संस्कृति

एशियामाकै प्रशिद्ध तीर्थस्थल देवघाटमा त्रिकोणात्मक पुल बन्ने

नारायण अधिकारी
चितवन । धार्मिक पर्यटक भित्र्याउने प्रमुख उद्देश्यका साथ पवित्र तीर्थस्थल देवघाटमा तीन जिल्ला जोड्ने गरी त्रिकोणात्मक धार्मिक पर्यटकीय पुल निर्माणको प्रक्रिया अगाडि बढेको छ ।

देवघाटको कालीगण्डकी र त्रिशूली नदीको संगमस्थलमा चितवन, तनहुँ र नवलपुर जिल्लालाई जोड्ने गरी पुल निर्माण गर्न लागिएको हो । सो पुललाई एउटा मात्रै पिलरले धान्ने छ ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलका अनुसार निकै आकर्षक ढंगबाट पुलको डिजाइन भइरहेकाले त्यसलाई नै हेर्नका लागि पनि यहाँ पर्यटक आउने विश्वास लिइएको छ । चितवन र तनहुँ जोड्ने त्रिशूली माथि रहेको अहिलेको झोलुङ्गे पुल जीर्ण हुँदै गएकाले अब बन्ने पुल विकल्पका रुपमा पनि लिइएको छ ।

स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) ले पुल निर्माण गर्न लागेको हो । डोलिडारका डिभिजनल इन्जिनियर शेखर पोखरेलले डिजाइन सम्पन्न भएलगत्तै टेण्डर गरिने बताए । उनले भने, “अहिले परामर्शदाता कम्पनीले डिजाइन गरिरहेको छ, डिजाइन पूरा भएलगत्तै हामी टेण्डर गर्ने तयारीमा छौँ ।”

यसै आर्थिक वर्षभित्र टेण्डर हुने पनि उनले बताए । निकै आकर्षक पुल बन्ने भन्दै उनले मुख्य रुपमा नेपालीसहित भारतीय पर्यटकलाई पुलले आकर्षित पार्ने बताए । मुख्य पिलरबाट एउटा जिल्ला जोड्न दुई सय मिटर लामो झोलुङ्गे पुल निर्माण गर्नुपर्ने हुन्छ ।

डिभिजनल इन्जिनियर पोखरेलका अनुसार तीन जिल्ला गरी ६०० मिटर लामो पुल बन्नेछ । अत्याधुनिक र आकर्षक पुल हुने भएकाले रु ४० करोड हाराहारी खर्च हुने अनुमान गरिएको छ ।

यस्तै खालको पुल रिढीमा बन्दै गरेको बताउँदै उनले ‘आर्च ब्रिज’ भएकाले यसबाट पैदल र मोटरसाइकल मात्रै हिँड्न सक्छ भने । मुख्य पिलरको माथिबाट वरिपरिका क्षेत्रमा अवलोकन गर्न सकिने भएकाले पर्यटकको रुचि बढ्न सक्ने अनुमान गरिएको छ ।

डिभिजनल इन्जिनियर पोखरेलले भारतको ऋषिकेशस्थित गंगानदीमा रामझुला र लक्ष्मणझुला नामको पुल हेर्न ठूलो संख्यामा धार्मिक पर्यटक जाने गरेको उल्लेख गर्दै यस पुलले पनि धार्मिक पर्यटक भित्र्याउन सक्ने विश्वासका साथ काम अघि बढेको बताए ।

पुल डिजाइनको जिम्मा पाएको आरआइडिसी प्रालिका कार्यकारी निर्देशक जगत रानाभाटले संगमस्थलको ३० मिटर गहिराइको माटो परीक्षण गर्नुपर्ने भएकाले सो काम भइरहेको बताए । पाँच ठाउँबाट माटो झिकेर परीक्षण भइरहेको भन्दै उनले फागुन महिनाभरिमा माटो परीक्षणको काम सकेर चैतमा डिजाइन डोलिडारलाई दिन सकिने जानकारी दिए ।

चैतमा नै डोलिडारले पुल निर्माणका लागि टेण्डर गर्न सक्ने डिभिजनल इन्जिनियर पोखरेलको भनाई छ । टेण्डरपछि तीन वर्षभित्र निर्माणको काम सम्पन्न हुने अनुमान गरिएको छ ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष पौडेलले नवलपरासीतर्फ पुल तरेपछि मौलाकालिकासम्म जानका लागि मौलाकालिका–वणी धार्मिक पर्यटकीय पदमार्ग निर्माणको काम भइरहेको बताए । वेणीबाट मौलाकालिका मन्दिरसम्म पुग्न ३ दशमलव ५ किलोमिटर पैदल यात्रा उकालो उक्लनुपर्ने हुन्छ । सो क्षेत्रमा सात सय मिटर सिँढी निर्माण भइसकेको छ भने बाँकी सिँढी निर्माणको क्रममा छ । बाँकी सिँढी निर्माणका लागि पर्यटन कार्यालय पोखराले रु १० लाख उपलब्ध गराएको अध्यक्ष पौडेलले बताए ।

देवघाट एशियामा नै चिनिएको पवित्र तीर्थस्थल हो । देवघाटबाट बढी पर्यटक आउने सौराहा, लुम्बिनी, पोखरा र पशुपति क्षेत्र पनि निकट रहेको छ । ती क्षेत्रमा आउने धार्मिक पर्यटकलाई देवघाट भित्र्याउनका लागि बन्न लागेको पुल सार्थक हुने अपेक्षा गरिएको छ ।