साहित्य

बाल साहित्यकार अधिकारीको ‘धर्तीमाताको काखमा’

काठमाडौँ । बाल साहित्यकार मारिया अधिकारीद्वारा लिखित ‘धर्तीमाताको काखमा’ कवितासंग्रह विमोचन भएको छ ।
हेड्स नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा १० वर्षीया बालिका अधिकारीद्वारा अंग्रेजी भाषामा लिखित ‘धर्तीमाताको काखमा’ कवितासंग्रहको वरिष्ठ साहित्यकार हरिहर अधिकारी ‘श्यामल’ले विमोचन गरेका हुन् ।

साहित्यकार श्यामलले नेपाली बालिकाले अंग्रेजी साहित्यमा विभिन्न कवितामार्फत खेलेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै नेपाली बिम्वलाई अन्तर्राष्ट्रियस्तरसम्म फैलाउन सकेमात्र ठूलो सफलता हासिल हुने बताए ।

पाँच कक्षामा अध्ययनरत अधिकारी नर्सरीसम्मको पढाइ नेपालमा र त्यसपछिको पढाइ अमेरिकामा पढ्दै आएका छन् । उनी बुबा कृष्ण अधिकारी र आमा अनुपमा शर्मासँग कोलोराडो बस्दै आएका छन् ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक कर्णबहादुर बानियाँले नेपालमा बाल साहित्य समाज गठन भए पनि उक्त समाजले सोचेजस्तो काम गर्न नसकेको बताए ।

वरिष्ठ साहित्यकार बद्री खनालले कविता जबर्जस्ती नलेखिने र कविता लेख्न प्रतिभा चाहिने र उक्त प्रतिभा मारियासँग भएको उल्लेख गरे । हेड्स नेपालका अध्यक्ष ईश्वरचन्द्र बानियाँ, साहित्यकार एवं वरिष्ठ पत्रकार रमेश पौडेल, हेड्स नेपालका उपाध्यक्ष पुष्पराज पौडेललगायतले मारियाको कवितासंग्रहले विश्वका बालबालिकामा साहित्यप्रतिको नयाँ सन्देश दिएको बताए ।

एक वर्ष लगाएर लेखिएको उक्त कवितासंग्रहमा सामाजिक, सांस्कृतिक, प्राकृतिक क्षेत्रका २९ कविता समावेश भएको छ ।