पर्यटन/संस्कृति

शाश्वतधाममा वसन्त महोत्सव

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) दुम्कौलीमा अवस्थित शाश्वतधाममा आयोजित दुई दिवसीय ३५औ वसन्त महोत्सव शुक्रबार सकिएको छ ।

नवलपुरको देवचुली नगरपालिका– २ स्थित शाश्वतधाममा बिहीबारदेखि शुरु भएको महोत्सवमा भारतको राजस्थानस्थित झुन्झुनु मन्दिरमा रहेकी राणीसती दादीजीको मूर्ति ल्याएर विधिवत् पूजार्चना गरिएको थियो । धर्म रक्षति रक्षितः (धर्मको रक्षा गरे धर्मले हामीलाई रक्षा गर्छ) भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै सो महोत्सव आयोजना गरिएको हो ।

महोत्सवका लागि दुई हजार भारतीय भक्तजन शाश्वतधाममा आएका थिए भने त्यतिकै संख्यामा नेपालीको पनि सहभागिता थियो । महोत्सवमा राणीसतीका अनुयायीले आआफ्नो क्षेत्रका सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए । शाश्वतधामसँग पशुपतिनाथ, आर्ट अफ लिभिङ बङ्लोर, काञ्चिकामाकोटीसँग धार्मिक एवं सांस्कृतिक सम्बन्ध स्थापित भइसकेको छ । महोत्सवपछि राणीसतीजी मन्दिरसँग पनि यो सम्बन्ध स्थापित भएको छ ।

शाश्वतधामले आगामी दिनमा विश्वका सनातन धर्मसँग सम्बन्धित विख्यात संस्थासँग धार्मिक एवं सामाजिक सम्बन्ध स्थापित गर्दै जाने नीति लिएको छ ।