राजनीति

‘गुण र दोषका आधारमा सरकारलाई सहयोग’ – डा. कोईराला

विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले गुण र दोषका आधारमा वर्तमान सरकारलाई सहयोग गरिने बताएका छन् ।

मोरङको सुन्दरहरैंचा नगरपालिकाको विराटचोकमा आजदेखि शुरु भएको ‘निर्वाचनपछिको सन्दर्भ र नेविसंघको भूमिका’ विषयमा प्रदेश नं १ स्तरीय दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले प्रतिपक्षमा बस्ने जनादेश पाइएकाले प्रतिपक्षमा रहँदै सरकारका राम्रो कामको समर्थन र गलत कामको खबरदारी गरिने बताए । उनले पार्टीलाई समयसापेक्ष बनाएर सुदृढ बनाउनाका साथै भ्रातृ संघसंगठनलाई पुनःजागरण गराउनुपर्नेमा जोड दिए ।

काँग्रेसका अर्का केन्द्रीय सदस्य चन्द्र भण्डारीले निर्वाचनमा पराजय भोग्दैमा काँग्रेस विचलित नहुने बताए । केन्द्रीय सदस्य धनराज गुरुङ, गुरुराज घिमिरे र प्रदीप पौडेल, नेविसंघका महामन्त्री कुन्दन काफ्लेलगायतले नयाँ सोच र समयसापेक्ष बनाएर कांग्रेसलाई अगाडि बढाउन नेविसंघको भूमिका महत्वपूर्ण हुने बताए ।

प्रशिक्षणमा प्रदेश नं १ का १४ जिल्लाका नेविसंघका जिल्ला सभापति, स्वतन्त्र विद्यार्थी यूनियन तथा क्याम्पस एकाइका गरी चार सय विद्यार्थीको सहभागिता छ ।