आर्थिक

यातायात व्यवसायमा करिब रु चार खर्बको लगानी

काठमाडौँ । मुलुकमा यातायात व्यवसायको क्षेत्रमा करिब रु चार खर्बबराबरको लगानी भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पाँचौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पदस्थापन समारोहमा यहाँ आज आयोजना गरेको कार्यक्रममा महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको यातायात क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन सरकारले लगानी वृद्धि गर्नुपर्ने बताए ।

निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत शंकरप्रसाद सुवेदी, निवर्तमान कावा अध्यक्ष डोलनाथ खनालले अव्यवस्थित यातायात क्षेत्रलाई व्यवस्थित प्रविधियुक्त बनाउनुपर्ने तथा व्यवसायी क्षेत्रको हकहितका लागि वर्तमान कार्यसमितिले सबैलाई समेटेर अगाडि बढ्नुपर्ने बताए ।

गत माघ १७ देखि १९ गतेसम्म चितवनमा सम्पन्न पाँचौँ राष्ट्रिय महाधिवेशनबाट कर्माचार्यको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । जसको वरिष्ठ उपाध्यक्षमा विजयबहादुर स्वाँर, दीपक अधिकारी, हरिशरण केसी, उपाध्यक्ष पुष्पा श्रेष्ठ, ऐनकुमार शाही, जीतबहादुर भारती, सानुकाजी प्रजापति, रामप्रसाद सुवेदी, प्रभुप्रसाद कलवार, कृष्णप्रसाद सुवेदी, यादवलाल श्रेष्ठ र महासचिव पुन्यप्रसाद सिटौला निर्वाचित भएका थिए ।

यसैगरी उपमहासचिवमा डेकनाथ गौतम र वसन्त भण्डारी, सचिवमा सुरेन्द्र सिटौला र रवि रिमाल, कोषाध्यक्ष किरणकुमार खड्का र सहकोषाध्यक्षमा डम्बरराज पन्त निर्वाचित भएका थिए ।

यसैगरी विभिन्न वर्गीय संयोजक, प्रदेश संयोजक, केन्द्रीय सदस्य गरी ८३ कार्यसमिति निर्वाचित भएको छ ।

विसं २०३६ साउनमा स्थापित महासंघअन्तर्गत अहिले २० लाख जनताले प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा रोजगारी पाएका छन् ।