पु.समाचार

सल्किएको डढेलो एकाएक गयो नियन्त्रण बाहिर

सल्लेरी, सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका–३ को एउटा घरमा आगलागी हुँदा नजिकैको जंगलसम्म फैलिएको छ ।

जंगलमा फैलिएको आगो अझै नियन्त्रण बाहिर रहेकोे छ । बिहिबार दिउँसो स्थानीय काल्देनवाङ्छु शेर्पाको घरमा आगलागी भएको थियो । आगो घरनजिकै रहेको ठाडोकोशी रेडपाण्डा समुदायिक बनमा सल्किएको थियो ।

उक्त आगो अहिले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा फैलिएको लुक्ला सामुदायिक प्रहरी सेवाकेन्द्रका अध्यक्ष नाम्गेल शेर्पाले जानकारी दिए। घरमा लागेको आगो नियन्त्रणमा आए पनि त्यहाँबाट जंगलमा सल्किएको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन । अहिले स्थानीय बासिन्दा, नेपाली सेना, नेपाल प्रहरी तथा पैदलयात्रीले आगो निभाइरहेका छन् ।

“आगलागीले बस्ती भेट्ने सम्भावना कम भए पनि जंगलमा क्षति पु¥याएको छ,” सेवा केन्द्रका अध्यक्ष शेर्पाले भने ।

ठाडो कोशीमा लागेको आगो तीन घण्टाको दूरीमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको जोर सल्लेसम्म फैलिएको प्रहरी नायब निरीक्षक यादव केसीले बताए । उनले भने– “नियन्त्रण गर्ने साधन नहुँदा समस्या भएको छ ।” आगलागीबाट शेर्पाको घरमा रहेको सबै सामग्री जलेर नष्ट हुँदा करिब रु डेढ करोड बराबरको क्षति भएको उनले बताए ।