राजनीति

शहीदभूमिमा ऐतिहासिक बस्ती निर्माण गरिने

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज पदभार ग्रहण गरेका छन् ।

मुख्यमन्त्री राईले सरकारका प्रवक्तामा आन्तरिक मामिला तथा कानुनमन्त्रीमा हिक्मत कार्कीलाई नियुक्त गरेका छन् । मुख्यमन्त्री राईका अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्को बैठकले शहीदहरुको सम्झनामा एक–एक नमूना गाउँ बस्ती निर्माण गर्ने निर्णय गरेको छ । प्रदेश नं १ मा प्रजातान्त्रिक, लोकतान्त्रिक र गणतान्त्रिक आन्दोलनमा शहादत दिनुभएका जननेता मदन भण्डारीको जन्मस्थल ताप्लेजुङको ढुङ्गेसाँघु, रत्नकुमार बान्तवाको जन्मस्थल इलाम, बमप्रसाद बान्तवाको हत्या गरिएको स्थल इलाम, चमेता, सुखानी हत्याकाण्डस्थल झापा, रामलक्ष्मणको हत्यास्थल ओखलढुङ्गा रामपुर र धनकुटाको छिन्ताङ हत्याकाण्डस्थल छन् ।

त्यस्तै नेत्र गुरागार्इंको हत्यास्थल तेह्रथुमको आङबुङ, २००७ सालका योद्धा रामप्रसाद राईको जन्मस्थल भोजपुर, बासीखोरा, हरि नेपाल र चन्द्रबहादुरको हत्यास्थल संखुवासभा, सियाबुन, जमीन राईको हत्यास्थल भोजपुर, हतुवागढी आदि छन् । मन्त्रिपरिषद्को बैठकले २०७४ कार्य विभाजन, सम्पादन र प्रदेशस्तरको सार्वजनिक लिखित प्रमाणीकरण नियमावली स्वीकृत गरेको छ । चाँडै मन्त्रिमण्डलले पूर्णता लिने र महिला पनि मन्त्रिमण्डलमा सहभागी हुने जनाइएको छ ।