राजनीति

मुख्यमन्त्री राउत र दुई मन्त्रीद्वारा शपथ

जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत र मन्त्रीहरू जितेन्द्रप्रसाद सोनार एवं विजय यादवले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले उनीहरूलाई जनकपुर चुरोट कारखाना परिसरमा आयोजित एक समारोहमा शपथ खुवाएका हुन्।

मुख्यमन्त्री राउतले भोजपुरी, मन्त्री सोनारले हिन्दी र मन्त्री यादवले मैथिली भाषामा शपथ लिएका थिए । सोनारलाई भौतिक पूर्वाधार तथा विकास मन्त्रालय र यादवलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं १ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य राउत सङ्घीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता तथा पार्टीको उपाध्यक्षसमेत रहेका छन् ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुर केन्द्रीय अंग्रेजी विभागबाट स्नातकोत्तर तथा कानून विषयमा स्नातक गर्नुभएका राउत १० वर्षसम्म ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जमा उपप्राध्यापक पदमा काम गरेका छन् । उनले केही समयसम्म वीरगञ्ज उपमहानगरपालिकामा अधिकृतका रूपमा पनि काम गरेका थिए ।

पर्सा जिल्लाको जगन्नाथपुर–३ मा २०२३ असार १५ गते राउतका बुबा दशरथ राउत र आमा राधिका देवी हुनुहुन्छ । उहाँ हिन्दू तथा मुस्लिम धर्मप्रति समान आस्था राख्ने व्यक्ति हुन् । भौतिक पूर्वाधार मन्त्री सोनार पर्सा जिल्लाको निर्वाचन क्षेत्र नं ४ ख बाट निर्वाचित प्रदेशसभा सदस्य हुनाका साथै राष्ट्रिय जनता दल नेपालको संसदीय दलको नेता हुन् ।

त्यस्तै, आर्थिक मन्त्री यादव संघीय समाजवादी फोरम नेपालबाट सिरहा जिल्ला निर्वाचन क्षेत्र नं २ क बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

शपथ ग्रहण समारोहमा प्रदेशसभा–२ का सभामुख सरोजकुमार यादव, प्र्रतिनिधिसभाका पूर्व सभामुख दमननाथ ढुंगाना, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डल सदस्य महन्थ ठाकुर र सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको उपस्थिति थियो ।