पर्यटन/संस्कृति

जगदिशपुर ताल नजिकै होमस्टे सञ्चालन

जीतपुर, कपिलवस्तु । होमस्टे (घरबास) प्रति पर्यटकको आकर्षण बढ्दै गएपछि यस जिल्लामा पनि पहिलो पटक होमस्टे सञ्चालनमा ल्याइएको छ ।

कपिलवस्तु नगरपालिका–९, जगदिशपुरमा पहिलो पटक थारु समुदायले होमस्टेको शुरुआत गरेका हुन् ।

कपिलवस्तु रहेका बुद्धसँग सम्बन्धित ऐतिहासिकस्थल तिलौराकोट दरबार, कुदान, गोटिहवा, निगालीकोटलगायतका पर्यटकीय क्षेत्र तथा जगदिशपुर तालमा रहेका चरा हेर्न आउने पर्यटकलाई मध्यनजर गर्दै होमस्टे सञ्चालन गरिएको हो ।

नेपालकै सबैभन्दा ठूलो मानव निर्मित तथा विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदिशपुर ताल नजिकै रहेको जगदिशपुर गाउँमा जगदिशपुर जलाशय घरबासको शुरुआत गरिएको हो ।

तेह्र घरधुरीबाट शुरुआत गरिएको होमस्टेमा अहिलेसम्म २०० भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आएको जगदिशपुर जलाशय होमस्टेका सचिव सरिता थारुले बताईन् । होमस्टेमा क्यानाडा, अमेरिका, श्रीलंका, चीनलगायत विभिन्न मुलुकका पर्यटक पुग्ने गरेका छन् ।

समूहलाई दर्ता गरेर व्यवस्थितरुपमा होमस्टे व्यवसाय सञ्चालन गर्ने योजना बनाइएको सचिव थारुले बताए । होमस्टेमा थारु जातिका लोकप्रिय खाना घाँगी, लोकल कुखुरा, ढिकरी, चिचर, खोरिया, हाँसको छोइला पाउने गरेको होमस्टे सञ्चालक बताउँछन् ।