पु.समाचार

१८ बर्ष जेल बसेका प्रजातन्त्र सेनानी पण्डितको निधन

भक्तपुर । प्रजातन्त्र सेनानी लीलाबहादुर पण्डितको ८४ वर्षको उमेरमा मंगलबार राति निधन भएको छ । लामो समयदेखि फोक्सोको नलीमा समस्या भोग्दै आएका पण्डितको मंगलवार राति निजी निवास भक्तपुरको सुँडालमा निधन भएको हो ।

पण्डितले प्रजातान्त्रिक लडाईंका क्रममा पटकपटक गरी १८ वर्ष जेलजीवन बिताएका थिए । उनी जेलमा रहँदा नेपाली काँग्रेसका नेताहरु स्व कृष्णप्रसाद भट्टराई, स्व गिरिजाप्रसाद कोइराला, रामचन्द्र पौडेल, शेरबहादुर देउवालगायतका नेताहरुको भान्छेका रुपमा समेत काम गरेका थिए।

नेपाली काँग्रेसको आह्वानमा प्रजातन्त्रका लागि लामो संघर्ष र त्याग गरे पनि उहाँ काँग्रेसको कुनै पनि कार्यकारी पदमा भने बस्नु भएन । साथै, कुनै पनि सरकारी लाभको पदमा समेत बस्नु भएन । पण्डितको गएराति नै हिन्दू धार्मिक परम्पराअनुसार दाह संस्कार गरिएको छ ।

यसैबीच, नेपाली काँग्रेस भक्तपुरले पण्डितको निधनले पार्टीलाई अपूरणीय क्षति भएको जनाएको छ । काँग्रेस जिल्ला सभापति दुर्लभ थापाले जारी गरेको शोक वक्तव्यमा प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा प्रजातन्त्र सेनानी पण्डितको निधनले काँग्रेस भक्तपुरले आफ्नो अभिभावक गुमाएको उल्लेख गर्दै पण्डितको त्याग र बलिदानले पार्टीलाई मार्गदर्शन गर्ने जनाइएको छ ।