पु.समाचार

राष्ट्रपति, प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले यसरी दिए शिबरात्रीको शुभकामना

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महाशिवरात्रिजस्ता धार्मिक तथा सांस्कृतिक पर्वले सहिष्णुता, सद्भाव र शान्ति अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

हिन्दूको महान् चाड महाशिवरात्रिको अवसरमा आज दिएको सन्देशमा उनले नयाँ संविधान कार्यान्वयनका सिलसिलामा स्थानीय तह, प्रदेश र संघीय संसद्को निर्वाचन सफलापूर्वक सम्पन्न भई मुलुक सामाजिक तथा आर्थिक समृद्धितर्फ उन्मुख भएको बताउँदै यस पर्वबाट देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा मुलुकको समृद्धिमा अग्रसर हुने प्रेरणा मिलोस् भन्ने कामना गरेकी छन् ।

शिवरात्रिबाट सहिष्णुता र सद्भाव अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास

यसै उपलक्ष्यमा उपराष्ट्रपति नन्दबहादुर पुनले समस्त हिन्दू धर्मावलम्वीको पवित्र पर्व महाशिवरात्रिका माध्यमबाट नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।

शिवरात्रिका अवसरमा आज दिएको सन्देशमा उनले यस चाडले सबै नेपालीलाई एकताबद्ध गर्दै आपसी सहमति र सहकार्यको बाटामा अघि बढ्न प्रेरित गरोस् भन्ने कामना गरेका छन्।

प्रधानमन्त्रीद्वारा महाशिवरात्रिको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले महाशिवरात्रिका अवसरमा समस्त हिन्दू धर्मावलम्बीलाई आज शुभकामना दिएका छन्।

शिवरात्रिका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले यस पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचारा अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गरेका छन् । उनले यस्ता चाडपर्वले सम्पूर्ण नेपालीबीच बढ्ने आपसी विश्वास, सहमति र सहकार्यले मुलुकको समृद्धिमा प्रेरणा दिने पनि उल्लेख गरेका छन् ।

एमाले अध्यक्ष यसो भन्छन् महाशिबरात्रीको बिषयमा

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महाशिवरात्रिका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

आज एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले महाशिवरात्रि राष्ट्रिय एकताको पर्वसमेत भएको उल्लेख गर्दै नेपालीबीचको आपसी एकता, सद्भाव र भाइचारा सम्बन्धमा जोड दिएका ।

“धार्मिक साँस्कृतिक पर्व नेपालको एकताका आधार स्तम्भ हुन्,’ अध्यक्ष ओलीको भनाइ छ, “धार्मिक पर्वको माध्यमबाट मुलुकको एकता र समृद्धिका लागि एकजुट भएर अघि बढ्ने प्रेरणा मिलोस् ।”

ओलीले हालै सम्पन्न प्रतिनिधिसभा तथा राष्ट्रियसभाको निर्वाचन पछि देशमा लगभग राजनीतिक संक्रमणकाल सकिएकाले अब देशको प्राथमिकता विकास र समृद्धि भएको बताएका छन् ।

अध्यक्ष ओलीले आफ्नो शुभकामना सन्देशमा भनेका छन् “निर्वाचनमार्फत जनताले प्रकट गरेको स्थिरता, विकास र समृद्धिको लक्ष्य प्राप्त गर्न कसैसँग पनि सम्झौता गर्दैनौँ ।”

महाशिवरात्रि हिन्दूहरुको पर्व भएपनि सबै धार्मिक समुदायले उत्तिकै श्रद्धा गर्नेगरेको उल्लेख गर्दै उनले एक अर्काको धार्मिक आस्थामाथि श्रद्धा गर्ने नेपालीको परम्परा नै भएको बताएका छन् ।