राजनीति

माओवादी केन्द्रबाट समानुपातिक सांसदको सूची पेश

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) लेसमानुपातिकतर्फका सांसदको नामावली निर्वाचन आयोगमा बुझाएको छ । माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालका अनुसार पार्टीले प्राप्त गरेको १७ जना सांसदमा खस आर्य महिलाबाट पाँच जना निर्वाचित गर्न सूची पठाएको छ । त्यसमा रेखा शर्मा, पूर्णकुमारी सुवेदी, धर्मशिला चापागाईं, सत्या पहाडी र सीता पोखरेल छन् । शर्मा पूर्वमन्त्री एवं सभासद् हुन् । सुवेदी पूर्वउपसभामुख, चापागाईँ पूर्वराज्यमन्त्री र पहाडी पूर्वमन्त्री हुन् । पोखरेल भने माओवादी केन्द्र महिला संगठनका पूर्वअध्यक्ष हुन् ।

यस्तै आदिवासी जनजातिबाट जयपुरी घर्ती, शशि श्रेष्ठ, ओनसरी घर्ती, यशोदा गुरुङ र अमृता थापा रहनुभएको प्रवक्ता भुसालले जानकारी दिईन् । जयपुरी पूर्वमन्त्री तथा ओनसरी पूर्वसभामुख हुन् । यस्तै दलित महिलाबाट अञ्जना विशंखे र दुर्गा विकलाई चयन गरेर सूची बुझाइएको छ । मधेसी समुदायबाट इन्दु शर्मा र बोधमाया यादव छनोट भएका छन् । थारु वा मुस्लिमबाट रामकुमारी चौधरी र शेष चाँदतारा चयन भएको प्रवक्ता भुसालले जानकारी दिईन् ।
माओवादी केन्द्रबाट समानुपातिकतर्फ एक मात्रै पुरुष सांसदमा चयन हुनुभएको छ । माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य हितराज पाण्डेको नाम सिफारिश गरिएको छ । आयोगले तोकेको समयसीमाभित्रै समानुपातिकतर्फको सूची बुझाइएको माओवादी केन्द्रले जनाएको छ ।

पार्टी एकता गति 
प्रवक्ता भुसालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘बीच आज भएको छलफल सकारात्मक भएको जानकारी दिए । उनले एकताका सन्दर्भमा आजको छलफलले केही सकारात्मक गति लिएको र एकाध दिनभित्रै सार्थक निष्कर्षमा पुग्ने बताए।

“छलफल असाध्यै सकारात्मक छ । एकाध दिनभित्रै सार्थक परिणाम निस्कन्छ”, प्रवक्ता भुसालले भनिन् । एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच आज एक्लाएक्लै भेटवार्ता भएको थियो । मंगलबार अध्यक्षद्वयबीच एक्लाएक्लै पुनः भेटवार्ता गर्ने कार्यक्रम छ ।