राजनीति

काँग्रेस समानुपातिकतर्फको तपशीलका अन्तिम नामहरुको सूची आयोगलाई बुझाउँदै

काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको सिटअनुसार उम्मेदवारको नामावली निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहानदेखि जारी काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिक सिटमा उम्मेदवार तय गर्ने सम्बन्धमा छलफल गरिरहेको पार्टी कार्यालयले जनाएको छ ।

बैठकले आजै नामावली टुंगो लगाई निर्वाचन आयोगमा बुझाउने काँग्रेस नेता दिलेन्द्रप्रसाद बडूले जानकारी दिए । काँग्रेसले प्राप्त गरेका सिटमा कम्तीमा २० महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने आयोगले जनाएको छ ।

आयोगले शुक्रबार समानुपातिक निर्वाचनतर्फ दलले प्राप्त गर्ने स्थान संख्याबारे औपचारिकरुपमा जानकारी दिँदै यसअघि बन्दसूचीमा पेश गरिएको नामलाई समावेशिताको आधार मिलाएर आजसम्म पठाउन दलहरुलाई पत्राचार गरेको थियो ।

आयोगका अनुसार समानुपातिकतर्फ नेकपा (एमाले) ४१, नेपाली काँग्रेस ४०, नेकपा (माओवादी केन्द्र) १७ तथा राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले छ/छ स्थान प्राप्त गरेका छन् । एमालेले प्राप्त स्थानमा उम्मेदवारको टुंगो लगाई आइतबार नै सूची आयोगमा बुझाएको छ भने अन्य दलले आज बुझाउने बुझिएको छ ।

अन्तिम सिफारिसमा पर्नुहुने नामावली

समानुपातिक सूचीमा ख/आर्य (पुरुष) तर्फ बालकृष्ण खाँड, दिलेन्द्रप्रसाद बडू, किशोरसिंह राठौर, सत्यनारायण खनाल, सूर्यबहादुर केसी र मोहन पाण्डे चयन भएका छन् । त्यस्तै खस/आर्य (महिला) तर्फ सुजाता कोइराला, पुष्पा भुसाल, डा डिला संग्रौला, मीना पाण्डे, उमा रेग्मी र दीपशिखा शर्मा रहेका छन् ।

आदिवासी/जनजाति (पुरुष) तर्फ बहादुरसिंह लामा, कर्मा घले, उमेश श्रेष्ठ, लालकाजी गुरुङ, जिपछिरिङ लामा र दिव्यमणि राजभण्डारी चयन भएको सचिव रिजालले बताए । आदिवासी/जनजाति (महिला) तर्फ ज्ञानकुमारी छन्त्याल, प्रमिला राई, महेन्द्रकुमारी लिम्बू, हीरा गुरुङ र मीना सुब्बा छन् ।

मधेशी (पुरुष) मा विनोद चौधरी, स्मृतिनारायण चौधरी र नगेन्द्रकुमार राय तथा मधेसी (महिला) तर्फ सीतादेवी यादव, चित्रलेखा यादव र मीनाक्षी झा चयन भएका छन् । त्यस्तै दलित (पुरुष) तर्फ मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मा र प्रकाश रसाइली चयन भएका छन् भने दलित (महिला) तर्फ सुजाता परियार, लक्ष्मी परियार र विमला नेपाली छन् ।

थारू (पुरुष) तर्फ पद्मनारायण चौधरी तथा थारु (महिला) तर्फ पार्वता डिसी चौधरी र नमिताकुमारी चौधरी छन् । त्यस्तै मुस्लिम (पुरुष) मा अतहर कमाल मुसलमान र मुस्लिम (महिला) तर्फ सर्वतआरा खानम चयन भएको उनले जानकारी दिए ।