राजनीति

वाम गठबन्धनका नाममा दक्षिणपन्थी संशोधनवादको हैकम तीव्र– महासचिव वैद्य

काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा पार्टीलाई बलियो बनाउँदै सच्चा क्रान्तिकारी कम्युनिष्टलाई एकताबद्ध तुल्याउनु आजको आवश्यकता भएको बताएका छन् ।

तेइसौँ जनयुद्ध दिवसका अवसरमा आज शुभकामना वक्तव्य दिँदै महासचिव वैद्यले नयाँ जनवादी क्रान्तिको उद्देश्य प्राप्तिका लागि दृढतापूर्वक अगाडि बढ्नु नै जनयुद्ध दिवस मनाउनुको वास्तविक अर्थ र औचित्य हुने बताएका छन् ।

दश वर्षको जनयुद्धका बीचबाट जन्मिएको संविधानसभाले संसदीय व्यवस्थाकै पुनर्बहाली गरी संविधान बनाएको भन्दै यसले देश र जनताको सपना साकार हुन नसक्ने विज्ञप्तिमा उल्लेख छ ।

वाम गठबन्धनका नाममा दक्षिणपन्थी संशोधनवादको हैकम तीव्र बन्दै गएको महासचिव वैद्यले आरोप लगाएका छन् । जनयुद्ध दिवसको अवसरमा जनयुद्धका अमर शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि, बेपत्ता योद्धाको स–सम्मान संस्मरण र जनयुद्धमा घाइते अपांग बनेका सम्पूर्ण योद्धाप्रति महासचिव वैद्यले सम्मान प्रकट गरेका छन् ।